निर्वाचन नजिकिएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह जिल्लाको भ्रमण बाक्लिएको छ । साउनको दोस्रो साता चारदिन झापा बसेर भएका अध्यक्ष ओली आज फेरि तीन दिनका लागि झापा आएका छन् ।
आज विहान अध्यक्ष ओली दक्षिण झापाको बनियानीमा आयोजित कार्यक्रममा सहभागी हुने छन् । एमाले प्रदेश कमिटी सदस्य एवं प्रदेशसभा सदस्य बसन्त बाँनियाका अनुसार झापा क्षेत्र नं ३ को बनियानीमा आयोजना हुने कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने छन् । अध्यक्ष ओली आफ्नो निर्वाचन क्षेत्र दमकमा आएर बस्ने कार्यक्रम रहेको छ ।
भदौ ३ गते विहान चुलाचुलीको पार्टी प्रवेशमा सहभागी भएर अध्यक्ष ओलीले क्षेत्र नं ५ का विभिन्न समुदायहरुलाई अलग–अलग भेटघाटको कार्यक्रम तय गरिएको छ । गत साउनको ११ देखि १४ गतेको झापा भ्रमणमा भेटघाटको समय नमिलेका विभिन्न संघ संस्था र समुदायलाई अलग लअग भेटघाटको कार्यक्रम राखिएको छ । ३ गते नै गौरादहमा पनि विभिन्न क्षेत्र र वर्गका व्यक्ति र समुहसँग अध्यक्ष ओलीले अन्तरक्रिया गर्ने छन् । उक्त दिन पनि दमकमै बास बस्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।
भदौ ४ गते विर्तामोड इन्जिनियरिङ एशोसिएसनको कार्यक्रमलाई सम्बोधन गरेपछि दोस्रो कार्यक्रम अखिल नेपाल महिला संघ झापाको जिल्ला अधिवेशनको उद्घाटन गर्ने र उधोगी व्यवसायीको जिल्ला भेलामा सम्बोधन गरेर काठमाडौ फर्कने कार्यक्रम तय भएको नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले जानकारी दिए ।