साइबर ब्यूरो प्रदेशमा राख्न आवश्यक : प्रहरी महानिरीक्षक सिंह

साइबर ब्यूरो प्रदेशमा राख्न आवश्यक : प्रहरी महानिरीक्षक सिंह

विराटनगर । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नयाँ प्रविधिको विकाससँगै अपराधको शैलीमा समेत फरक आएकोले अनुसन्धानमा ध्यान दिनुपर्ने बताउनु भएको छ । प्रहरी प्रधान कार्यालयले प्रदेश १ मा आयोजना गरेको ‘प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठि’मा मातहतका प्रहरी निकायलाई निर्देशन दिदैं महानिरीक्षक सिंहले अपराधको ‘ट्रेण्ड’मा चनाखो हुनुपर्ने बताउनु भएको हो ।

कोभिड–१९ संक्रमणका कारण तीनवर्षपछि प्रदेशस्तरमा प्रधान कार्यालयले यस्तो गोष्ठि आयोजना गरेको छ । महानिरीक्षक सिंहले साइबर अपराध अनुसन्धानमा प्रहरीलाई चुनौती रहेको बताउँदै त्यसको इकाई प्रदेशस्तरमा विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । साइबर ब्यूरोको अनुसन्धान काठमाण्डौंबाट मात्रै भईरहेकोले यसलाई बिकेन्द्रीत गर्नुपर्ने अवस्था देखिएको उहाँको भनाई थियो ।
सेवाग्राहीले मुद्दा खेप्न काठमाण्डौं पुग्नुपर्ने बाध्यता रहेको बताउँदै साइबर ब्यूरोको इकाई प्रादेशिकस्तरमा विस्तार जरुरी देखिएको उहाँको भनाई थियो । दवाव र प्रभावमा नपरी अपराध अनुसन्धान गर्नुपर्ने जरुरी रहेको बताउँदै महानिरीक्षक सिंहले दक्ष र सक्षम बन्नुपर्नेमा जोड दिनुभयो ।

अपराध अनुसन्धानमा एकल दायित्व रहेको प्रहरी संगठन कुनै ठाउँमा चुक्न पुगे त्यसको असर समाजमा पर्ने बताउँदै कार्यशौशलता प्रस्तुत गर्न निर्देशन दिनु भएको थियो । ‘पीडितले न्याय महसुश गर्नुपर्दछ’ महानिरीक्षक सिंहले भन्नुभयो–अन्तर जिल्ला अनुसन्धानमा देखिएका सकारात्मक प्रयास साटासाट गर्न आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले समाज विकाससँगै अपराधमा पनि फरकपन देखिएकोले अनुसन्धानमा अब्बल देखिन आवश्यक तयारी गर्नुपर्नेमा जोड दिनुभयो । प्रहरीको अनुसन्धानमा आम नागरिकले सहयोग गर्नुपर्ने बताउँदै मन्त्री कार्कीले प्रदेश सरकारले सक्षम प्रहरी संगठन बनाउन आवश्यक सहयोग गर्ने बताउनुभयो ।

गोष्ठिमा प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले प्रविधिको विकासले फेरिएको अपराध शैली चिर्न सक्षम प्रहरीको अवधारणा जरुरी रहेको बताउनुभयो । उहाँले समाजमा भईरहेका ८५ प्रतिशत अपराधका घटना नजिकका व्यक्तिबाट हुने गरेको बताउनुभयो । उहाँले विदेशी भूमिमा बसेर अपराध गर्नेको संख्या समेत बढ्दै गएको बताउनुभयो । प्रदेश प्रहरी मातहत १४ जिल्लाका प्रमुख तथा अपराध अनुसन्धानका क्रियाशिल प्रहरी सदस्यहरुको गोष्ठिमा उपस्थिति रहेको थियो ।

कार्यक्रममा उच्च सरकारी वकिलको कार्यालय विराटनगरका सह–न्यायाधीवक्ता कोषहरी निरौला, रजिष्टार जितेन्द्र थपलिया, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालिप्रसाद पराजुली, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अपराध अनुसन्धान र चुनौतीका विषयमा धारणा राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्