विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–८ खरेबारीबाट पेस्तोल खरिद–बिक्री गर्ने दुईजना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले चाइनिज पेस्तोल र सिक्सर पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) सिक्टीले सुनवर्षी नगरपालिका ८ हसनगढीका २८ वर्षीय आरिफ आलम र उर्लाबारी ६ का २९ वर्षीय नवीन धिमाललाई आइतबार पक्राउ गरेको थियो । सशस्त्र प्रहरी बल मोरङका एसपी राजकुमार लामिछानेका अनुसार भारतबाट अवैध रूपमा आलमले ल्याएको पेस्तोल उर्लाबारीका धिमालले खरिद गर्ने थिए ।
को २७ प ४०६ नं. को पलसर मोटरसाइकलमा सवार आलमको साथबाट अटोमेटिक चाइनिज पेस्तोल फेला परेको थियो । आलमले बोकेको पेस्तोल धिमालले मगाएको खुलेपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो । प्रहरीले धिमालको साथबाट नगद ४७ हजार ७ सय ७० रुपैयाँ पनि बरामद गरेको छ । भारतबाट पठाइदिएको पेस्तोल धिमालले ६५ हजार रुपैयाँमा खरिद गर्ने बताए अनुसार आलममार्फत सो पेस्तोल ल्याएको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।
सशस्त्र प्रहरीले उनीहरूको साथबाट पेस्तोलमा लाग्ने एक राउण्ड गोली पनि बरामद गरेको छ । उनीहरुको अनुसन्धान इलाका प्रहरी कार्यालय रंगेलीले गर्नेछ । लागू औषध कारोबारी धिमाल र आलम विरुद्ध अनुसन्धान गर्न इप्रका रंगेलीले सोमबार मोरङ अदालतमा हातहतियार तथा खरखजना मुद्दामा म्याद थप गर्ने भएको छ ।