किस्मतका हृदयस्पर्शी ५ गजलहरु

किस्मतका हृदयस्पर्शी ५ गजलहरु

१ ।।

बुझ्न खोज्यौ मेरो कहानी, खै के बताउँ?
रोएरै सुक्यो आँखामा पानी, खै के बताउँ?

हजारौँको भिडमा पनि आफू एक्लो हुन्छु,
यस्तै रहेछ क्यारे जिन्दगानी, खै के बताउँ?

उसैको पिरले ज्यान सुकेर लौरी झैँ भयो,
नफक्रिदै ओइलायो जवानी, खै के बताउँ?

हिजो~आज चारैतिर अध्यारो मात्र देख्छु,
बन्छु भन्थी आँखाको नानी , खै के बताउँ?

जीवन भर सँगै रहन्छु भन्नेले छोडेपछि,
बनेको छ साथी सिरानी, खै के बताउँ?

बाचुन्जेल साथ नछोड्ने झुठो बाचा गरेथी,
आखिरमा रहिछे बेइमानी, खै के बताउँ?

 

२ ।।

टोलाइरहन्छु बाटो हेरी, तिमी गएपछी
दिउसै हुन थाल्यो अधेरी,तिमी गएपछी

कसरि खुसि हुन सक्छु होला र खै अब?
खुसी छाउनै लाग्दा खेरी,तिमी गएपछी

जति सम्झाउन खोजे पनि बुझ्दैन मन
अचेल भएको छ अटेरी,तिमी गएपछी

बल्लतल्ल जिन्दगी हरियाली हुदैँ थियो
मरुभूमि बगर भयो फेरी,तिमी गएपछी

 

 

३ ।।

जुनदिन अर्कैको हातको सिन्दुर चुरा भयो
तिमीसँग देखेका सारा सपना अधुरा भयो

जब तिम्रो बिहे भयो भन्ने खबर पाए मैले
अध्यारो भयो संसार नसोचेको कुरा भयो

न भोक लाग्छ न निन्द्रा  सबै लुटेर लग्यौ
प्रत्येक बोली मुटु रेट्ने धारिलो छुरा भयो

जतिबेलै एकोहोरो हुन्छु तिमीलाई सम्झी
भुल्न खोजे सकिन मस्तिष्क बेसुरा भयो

तिमीलाई बिर्सिन प्राण  नत्यागी नसकुँला
सायद  अब  जिन्दगी  जिउन  पुरा  भयो||

 

४ ।।

खुसि खोज्दा खोज्दै एकदिन जिन्दगी सकिन्छ
बरु दुश्मनले साथ देला  आफन्तले चोट दिन्छ

दु :ख परेको बेला कसैले चिन्दैनन् तपाइँ लाइ
टन्न पैसा बोकेर हिड्नुस  पराईले पनि चिन्छ

दुनियाँ  स्वार्थि छ  महोदय, यो  कलियुग हो
यहाँ  औकात  धनको  तराजुमा  जोखिन्छ

कसै माथि बिस्वास गर्ने जमाना छैन  यहाँ
मुखमा राम राम बगलीमा छुरा हुने भेटिन्छ

समय, मौसम र मान्छे एकै भन्ने सुनेको थिए
हो रहेछ, थाहै नहुने  को कतिबेला बदलिन्छ

जिन्दगी पनि एक गन्तब्य विहिन यात्रा भयो
कहाँ पुगेपछि दोबाटो आउछ, बाटो मोडिन्छ

 

 

५।।

गरिब भनेर छोड्दा भोलि बचत, हुनसक्छ सोचिनौ
झुपडीको ठाउँमा पक्की घर छत, हुनसक्छ सोचिनौ

घरको न घाटको बनाइदियौ आखिर मलाई तिमीले
अरुको जिन्दगी सँग खेल्नु गलत, हुनसक्छ सोचिनौ

कहिल्यै निको नहुने चोट दियौ मलम बन्नुको सट्टा
घाउ निको भए पनी भित्र खत, हुनसक्छ सोचिनौ

छुट्ने बहाना बनाउन मेरो अतित कोट्याउन पुग्यौ
सायद तिम्रो पनि आफ्नो बिगत, हुनसक्छ सोचिनौ

दुनिया सामु मेरो अपमान गर्दै हिड्यौ कुरै नबुझी
समाजमा मेरो पनि थोरै इज्जत, हुनसक्छ सोचिनौ

बिचार गर्नु पर्थ्यो कसैलाई दोष लगाउनु अगाडि
दोषी ठहर्याउन प्रमाण जरुरत, हुनसक्छ सोचिनौ ||

 

✍️ किस्मत खतिवडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्