रेड कार्पेट

रेड कार्पेट

साउण्ड प्रुफ कोठा जस्त यो मन
निस्किदैन आवाज, सुन्दैन कसैले
तर ठुला ठुला स्वरमा चिच्याउछन् भावना ।

छ उनलाई छिर्न यो कोठा
सुन्नु छ आवाज सबै
तर सिलाइएकोझैँ आवाजका द्वार
निस्किदैनन् कैदी शब्द ।
समाएझैँ टन्सिल
समायो शब्द घाँटिले
अनि यो द्वारभित्रको जिब्रो
मुखका भित्तामा ठोकिदैनन्,
जस्तो शब्द बक्न
लाटो भएको छ जिब्रो ।
बोल्दैन मुख, बोल्छ कलम
भन्दिन म, भन्छ कागज
"अप्ठ्यारो मान्नु पर्दैन
तिमी र म एकै हो ।"
उनका ई शब्दको जान्दछु
म महत्त्व ।
तर बनाउन मन एक्लो
छु काबिल म ।

म तिमीलाई अँगालो सक्छु दिन
नयनको इशारा सक्छु दिन
चुपचाप हुँदा महसुस हुने
दिन सक्छु भावना,
तर मुखमा लागको छ ताला
सक्दिन खोल्न ।
प्रयासरत छु म
छिराउन तिमीलाई आफ्नो संसार
"उ त्यो भत्केको घर हेर त
तनावको भूकम्पले ढलेको ।
उ त्यहाँ झिलिमिली बत्ति,
तिमीलाई भेटे देखि बलेको ।
उ त्यो चिहान
मेरो आत्माको ।
कैले काहि आएर भुत
तर्साउने गर्छ वर्तमानमा ।"
तर सुन,
घुमाउन यो सबै ठाउँ तिमीलाई
मान्दैछु अप्ठ्यारो
मात्र देखेको आफ्नो छायाँ
त्यस्तो मान्छेले
एक्कासि अर्को छायाँ देख्दा तर्सनेरैछ
ई दुई हातले पुछेका आँसु
एक्कासी अर्का दुई हातले
पुछ्न खोज्दा
तर्सिने रैछ ।

आफ्नो समस्या आफूसंगै राखी
समयको चिहानमा पुरेको
अनुभव बोकेको मान्छेले
एक्कासि अर्को मान्छेको साथ पाउँदा
तर्सिने रैछ ।
सुन, समय लाग्छ अवश्य
त्यो सात वर्ष सम्म निरन्तर
एक्लै चोट खाएर खुशी भएको
मान्छेलाई,
केहि वर्षमा आफ्नो दुख बाँड्न ।
मैले खोल्न लागे ढोका,
मेरो संसारको ।
तिम्रो स्वागतको लागि ओछ्याएर
रेड कार्पेट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्