मेरा छिमेकी खत्री दाइ ३ वर्ष कतार बसेर घर फर्की बसेकाे पनि छ महिना भइसकेको थियो । ठुल्ठुला हात र हातअनुसारकै मेरा नाडी जत्रा औँला उनका थिए । खुट्टा भने बटारिएका बाङ्गा थिए । जुत्ताचप्पल खोज्न कम्पनी सम्झनु पर्थ्यो । हृदय चौडा थियो ।
उनी घर आएको पाँचौँ दिनको भोलिपल्ट मलाई उत्साहित हुँदै भने - “ कति खान्छस् खा तर भोलिपल्टदेखि केही भन्न पाउँदैनस् ।”
“के भन्छन् हौ यी खत्री ! अत्तो न पत्तो । मैले खानु न पिउँनु !” मैले पनि हाँस्य भावमा वचनको रिस ओकलेँ ।
दाइ सम्हालिएर घरेलु मुडामा अडिएपछि बोले- “ चन्देलाई भनेँ।”
“त्यही भएर अहिले पनि लरबर गर्दै छौ बुढा !” मलाई पनि अल्छी लागिरहेको बेलामा कुरा कोट्याउन मन लाग्यो ।
निर्माण सम्पन्न हुन लागेको घरको पूर्वतिरको ढोका उघारेर कुर्सीमा बसेँ । प्लास्टिकको कुर्सी घररर गरेकाले खत्रीनी भाउजूले पुलुक्क हेरिन् ।
उनले भने - “ खान सक्दोरहेनछ मुला ! मैले छ ओटा पुन्टे सक्दा ऊ भरखर दुईटा खाँदै थियो ।” मलाई बोल्न नदिई फेरि उनले भने - “ उसले छ ओटा मरेर . . . सक्न लाग्दा मलाई चलेको दरदामभन्दा कम मूल्यमा जग्गा जमिन दियो, हा … हा … हा .. ।” हाँस्दा उनका पातला दाँत झन्डै पुरै देखिए ।
“ कागजै गऱ्यो दाइ ?” सोधेँ ।
गोजीबाट प्लास्टिकभित्र काजतमा लुकाएको सुर्ती पनि होइन, सुकेको पात भएको वस्तु जस्तो केही चिज निकालेर माड्दै भने -“ रातबिरात केको कागत ! यहाँ कुरा त सुन ।”
बेलाबेला त्यसलाई नङले चुँडाउथे दाइ । बेस्सरी माडेपछि केही पहेँलिँदै गएको देखिन्थ्यो । मुखतिर ठुलो भएको र मुन्तिर सानो हुँदै गएको उनकै कान्छी औँलो बराबर लम्बाइको सोली निकालेर हातमा भएको बस्तुलाई डल्लो आकारमा खाँदे ।
उनले मेरो मुखमा पुलुक्क हेरे, निधार खुम्च्याउँदै भने - “ त्यति नै बेला यति लामो चिउँडो र नाक लिएर मनोजे आयो र बस्यो । कति खान्छौ, खाऊ बाउन, भोलिपल्टदेखि नाकमुख नदेखाउनु भनेँ । एउटा खाएर भाग्यो ऊ ।”
फेरि दाइले भने - “ छ ओटा सकेपछि कागत आजै गरिदिन्छु भन्न थाल्यो । बैना देऊ, बैना देऊ भनेर चेलीको होटलै उचाल्यो । एक घन्टा गलफत्ती भयो । त्यतिन्जेलसम्ममा मैले पनि १२ ओटा सकेको थिएँ । म पनि के कम ! गोजीमा १० हजार थियो । दिइहालेँ । भोलिपल्ट कुरा गरेर लिनुपर्ला नि त भनेर मनमा सोचेँ । बिहानै उसको घर गएँ । मान्छे छैन । साँझसम्म पर्खिएर हेरेँ, छैन । कहिले इलाम, कहिले तिनजुरे, कहिले आफन्त, कहिले गोकुलम । म त वाक्क भएँ ।”
“म पनि वाक्क भएँ ।” दिक्क मान्दै बोलेँ ।
सोली आकारको सानो बस्तुलाई हातमा अँठ्याएर मुखमा पुऱ्याउने बेला आँखा पिलिक्क उघारेर चनाखो भई दाइ बोले- “ किन नि भाइ ?”
“एउटै कुरा दशपल्ट बोल्छौ बुढा, कति सुन्नु !” शब्द चपाई चपाई विस्तारै उनको स्वभावलाई घोचेँ ।
“ यहाँ कुरा त सुन ।” उनले सोलीको टुप्पामा हुरुरु आगो बाले । त्यहाँ भित्रबाट नुन आगोमा हाल्दा पटट पड्किएको जस्तो सानोतिनो आवाज आयो ।
“ अनि चन्देले पोइसो पचायो ?” चासो गरेँ ।
यहाँ भन्दा उताको उनको गथासो सुनेकै थिइनँ । सुन्न मन लाग्यो ।
उनले बङ्गरा फुस्किएको मुखबाट भोलाको टुक्रा उछिट्याउँदै भने - “ के भन्छौ र भाइ, त्यसले त्यो दिन मैले एउटा सक्दा डेढडेढ केजीका पङ्गास दुईदुई ओटा काँडा नछोडी सकेको थियो । त्यसका भुक्क परेका गाला मस्तिरको चल्नीको कमलो भाग टुटुल्को उठेजस्तो गरी बाहिर निस्कँदै भित्र पस्दै गरेको हुन्थ्यो । धेरै चपाएर होला चल्नीसमेत मोटाएको छ ।” उनी गलल्ल हाँसे ।
“खत्री दाइले सित्तैमा घडेरी जोडेको हल्ला थियो त बजारमा !” उनले यस्ता कुरा दोहोऱ्याउँदा जति पनि नयाँ कुरा थप्छन् । मैले पनि थपेँ ।
उनले दुई सर्को बेस्सरी तानिसकेका थिए । धुँवाको मुस्लो उड्यो मुखबाट । ख्याक्कख्याक्क धोद्रो खोके ।
खत्रीनी भाउजूले स्टिलगिलासमा रातो चिया राखिसकेकी थिइन् । दाउरे चुलोको उपहारका रूपमा चियागिलासमा औँलाका डाम र लेग्रालेग्री प्रष्ट थिए ।
“ धत् ! त्यस्ता पाजी, छोरो मान्छेको वचन । थुक्क ! आज बल्ल छ महिनापछि मात्रै भेटेर कठालो समातेँ । पर्स उधिनेँ । पन्ध्रहजार रहेछ । व्याज, स्याज र दुःख दिएको सबै हिसाब गरेर ल्याएँ, पुलिसकहाँ जान्छ रे, जाओस् ।” उनले चार सर्कोमा आँखा राताराता पार्दै एक डल्लो उडाइसकेका थिए ।
भने - “आज अलिक बढी भयो ।”
“ भनेपछि बैना फिर्ता भयो ।” मैले वैशाखको मध्यान्ह पछाडि गर्मीले उखुमै भएको बेला घरीघरी आउने सिरसिर हावाको शीतलपनामा उङ्दै भनेँ ।
“विशाल भान्जा खोइ ? आज त जानुपर्छ कट्टुसे । छिटो कल गर ।” दाइको बेपर्बाह आदेश थियो । उनले हाफ पाइन्टको गोजीबाट चन्देबाट खोसेको १५ ओटा हात्ती देखाए ।
म फोनको किप्याड थिच्न थालेँ ।