म बगर बनेर पर्खिनेछु

म बगर बनेर पर्खिनेछु

म बगर बनेर
बस्नेछु, तिम्रो सामिप्य कुरेर
तिमी छाल बनेर आउ ।
भेल नबन्नु,
तिमी छाल बनेर आउनु ।

आवेग उत्तेजनाले
भेललाई तानेर ल्याउँछ,
थाहा छ नि तिमीलाई ?
उत्तेजना आवेगले पखालिदिन्छ,
मेरो प्रेमको मुहारबाट मुस्कान ।
बरु तिमी
एकदमै सुस्तरी आउ,
जाडोलाई विदा गरेर
आउनै लागेको बसन्तलाई
स्वागत गर्न
चैत्रमा बग्ने कोमल समीर झैँ ।

तिमी आवेग, उत्तेजनाको साटो
सुसेली फुक्दै सललल बगेको
अनि बेला बेला
बगर छुने त्यो छाल भएर आउ ।
प्रेम, आत्मियताको
माहोलमा तिमी
मलाई डुबाउने गरि आउ ।
तिमीलाई भेट्नुको
नजिकिँदै जानुको
तिम्रो अंगालोमा बेरिएर
प्रेमको गहिराइमा डुब्नु
सबै-सबै कुराहरूको महत्त्व
रहोस्,
म त्यही बगर बनेर
तिम्रो सामीप्य कुरेर बस्नेछु ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्