पुरानै ताल, नयाँ साल

पुरानै ताल, नयाँ साल

निशान
तिमी आयौ म त उस्तै छु
आउँछौं, जान्छौं सालका साल
पात्रो फेरेर बस्ने मेरो ईच्छा
नयाँ ल्याउँदै पुरानो फेर्न व्यस्त छु ।

नयाँ सोच जगाउने तिम्रो आज
हिजैदेखि सोचेर बस्ने अल्छेहरुलाई
टाढा देखेर सपना बुन्दै देश बाँचेको छ
माटो सम्याएर उब्जाउन लाग्छ लाज ।

आउ नयाँ साल, आउन त आउ
उर्जा जगाउने तिमी हैन, फर्केर बारम्बार आउ
तिम्रो सपना बुन्ने नयाँ दिन मात्रै गन्ने
जान्ने बुझ्नेको बुद्धिलाई माटोसँग जगाउ ।

मन लगाएर कर्मको, फल टिप्ने सपना
बुन्दै सिर्जनाका पलहरु, पालुवा फर्के झैं
झरिसकेका मनहरुलाई हरियाली बनाउन सिकाउ
मरिसकेका माटोहरुलाई उर्वर बनाउँदै उठाउ ।

पाखाबारी खेत बाँझो सहेर बसेका
तराईका फाँटहरु कंक्रिट फलेर रोईरहेका
देखेर बस्ने नेपाली गाली बर्साउँन व्यस्त छन्
भाषण सुनेर विकासको, तालि बजार व्यस्त छन् ।

सथथोक जानेर बुझ्न नचाहेका मनहरु
सपनामा ढुंगा खोपिरहेका छन्
बाँझिएका खेत जस्तै मनहरुलाई बँझ्याँई
मरुभूमि खोतल्न दौडिरहेका छन् ।

जगाउने आसा जगाउँदैनन्, ढाँट्ने बानि परिसके
भरोसा साँचेका युवा अरबतिर पसिसके
अब त फर्काउ हातहरु, सिर्जना फुकाउने साल
भ्रष्टचार घटाउने बनोस् २०८० साल ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्