पूर्व लडाकुलाई विषाक्त ललिपप

पूर्व लडाकुलाई विषाक्त ललिपप

-नारायण प्रसाद निरौला
भर्खरै नेपाल सरकारले पूर्व अयोग्य लडाकुलाई दुई लाखका दरले राहात स्वरुप दिने निर्णय गरेको समाचार आईरहेको छ। यसरी सरकारद्वारा गरिएको यो निर्णय माथी निकै टीका टिप्पणी पनि भईरहेका छन् । सरकारले यसरी पैसा बाँड्नुको पछाडि के कस्ता कारण होलान ? भन्ने पनि खुलदुली रहेको छ। कतिपय जनयुद्ध विरोधीहरुले सरकारको यस कदमलाई निरपेक्ष रुपले गलत कदम भनिरहेका छन् । सरकार पक्ष र खास गरी माओवादी आन्दोलनका हिमायतीहरु सरकारको यो कदमलाई द्वन्द्ववादी विश्लेषण गरी निचोडमा पुग्नु भन्दा सतहीमा सकरात्मक भनी अभिब्यक्ति दिइरहेका छन् ।

हुन् त माओवादी आन्दोलनमा लागेका युवायुवतीहरु हिजो बाल्य तथा किशोर अवस्थादेखि नै अनवरत लाग्दै आएका हुन् । यसरी युद्धमा लागेका लडाकुहरुकै अदम्य साहस र दस वर्षको अथक मेहेनतबाट नै मुलुकमा गणतन्त्र , धर्म निरपेक्षता, संघियताको स्थापना साथै जातिय , वर्गीय, क्षेत्रीय र लैंगिक विभेदहरुको सम्बोधन सम्भव भएको हो। यो जुन घाम जत्तिकै छर्लंग छ। यस्ता महान योद्धाहरुलाई राज्यले अवश्य सम्मान गर्नुपर्छ। तर वर्तमान सरकारको यो रवैया कत्तिको दुरगामी महत्त्वको छ ? भन्ने यक्ष प्रश्न भने अवश्य खडा भएको छ।

सरकारले अयोग्य लडाकुलाई पैसा बाँडेर उनीहरुको मुखमा बुझो लाउन खोजे जस्तो छ। यसरी पैसा बाढेर अमनचयन राख्छु भन्नु पूर्णरूपमा दलाल पुँजीवादी प्रवृत्ति हो। कुनैपनि समाजवादी सरकारले क्रान्तिका योद्धाहरुलाई सामाजिक उत्पादनसंग जोड्न प्रयत्न गर्दछ, उनीहरुमा स्वावलम्बी संस्कृतिको विकास गर्ने योजना बनाउँछ। तर, वर्तमान प्रचण्ड सरकारले पूर्व लडाकुहरुलाई राहतको नाममा ललिपप दिएर थुमथुम्याउने काम गरेको छ। यसो गर्नुभनेको दलाल पुँजीवादी शासकहरुको पिछलग्गु अथवा अहिलेको चलनचल्तीको शब्द सापट लिएर भन्नुपर्दा "झोले कार्यकर्ता" बनाउने अभिष्ठ मात्रै हो भन्न गाह्राे छैन।

वास्तवमा रोजगारीको प्रबन्ध गर्न बरु त्यो लडाकुहरुमा बाँड्ने एकमुष्ठ रकमले ठूलै उद्योग खोल्न सकिन्छ। त्यसो गर्दा देशको उत्पादन अलिकति भए पनि बढ्थ्यो साथै रोजगारी बृद्धि भई लडाकु व्यवस्थापन पनि सही ढंगले हुन्थ्यो ।
तर प्रचण्ड र उनका आउरेबाउरे धुपौरेहरुले यस्तो दूरदर्शी सोच बनाएको भने पटक्कै देखिदैन। अति महत्वकांक्षा बोकेका माओवादी केन्द्रका नेता एवम् गठबन्धन सरकारका प्रधानमन्त्री प्रचण्ड र उनका आसेपासे, हुक्के, बैठकेले केही हजार मान्छेलाई आफ्नो पैतल चट्टु बनाइराख्ने र दलाल नोकरशाही पुँजीवादी सत्ता टिकाइराख्ने अनि आफ्नो गुटका मान्छेले मात्रै सत्तामा राइदाइँ गरिराख्ने ग्राण्ड डिजाइन अनुरुप यो ललिपप पर्व आरम्भ भएको छ भन्दा अतियुक्ति नहोला !

लडाकुहरुले पनि यो विषाक्त ललिपपलाई स्विकार्नु भन्दा सरकारको यो रवैयालाई बहुतै गम्भीर भई विश्लेषण गर्ने र निचोडमा पुग्नुपर्ने बेला आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्