नक्कली शरणार्थी प्रकरण : प्रहरीले बुझायो ३२ आरोपीमाथि मुद्दा चलाउने राय प्रतिवेदन

नक्कली शरणार्थी प्रकरण : प्रहरीले बुझायो ३२ आरोपीमाथि मुद्दा चलाउने राय प्रतिवेदन

विराटनगर । जिल्ला प्रहरी कार्यालय काठमाडौँले नक्कली शरणार्थी प्रकरणमा ३२ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयमा राय बुझाएको छ । प्रहरीले ३२ जनाविरुद्ध मुद्दा चलाउन राय दिएको भएपनि हालसम्म १६ जनामात्रै पक्राउ परेका छन् । प्रहरीले प्रतिवेदन बुझाएपछि अध्ययन गरेर सरकारी वकिलको कार्यालयले बुधबारसम्ममा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गर्नेछ ।

पक्राउ पर्नेमा पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित छन् । यस्तै कांग्रेसका पूर्व सभासद आङ्टावा शेर्पा छन् ।

यो प्रकरणमा सबैभन्दा पहिला २०७९ चैत १२ मा मोरङका केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारी पक्राउ परेका थिए । यस्तै चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परेका थिए । यस्तै पूर्व गृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी पनि पक्राउ परेका छन् ।

प्रहरीले भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पनि पक्राउ गरेको छ । अन्य १६ जना फरारको सूचिमा रहेका छन् । फरारको सूचीमा प्रतीक थापा, केशव तुलाधर, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, अशोक पोखरेल, धीरेन राई, निरज राई, दीपा हुमागाई रहेका छन् । यस्तै राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनिता लिम्बु, निरञ्जनकुमार खरेल र सुनिल बुढाथोकी पनि फरार रहेका छन् । त्यस्तै, वतन नखुलेकामा गोकुल थापा र रमा थापा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्