नेपाल क्रिकेट संघ (क्यान)ले एसिया कप र टी-२० विश्व कप एसिया छनोटलाई लक्षित गरी ६ खेलाडीलाई भारत प्रशिक्षणमा पठाएको छ ।
विनोद भण्डारी, कमल सिंह ऐरी, विवेक यादव, कमल खत्री, सागर ढकाल र लोकेश बमलाई एक महिना लामो प्रशिक्षणका लागि दिल्ली पठाएको क्यान स्रोतले बताएको छ । हाल सिनियर टिमभन्दा बाहिर रहेका विकेटकिपर विनोद भण्डारी र अलराउण्डर विवेक यादव भने १९ औं एसियाली खेलकुदमा पनि सहभागी हुँदैछन् ।
तिव्र गतिका बलर कमल सिंह ऐरी खेलका दौरान घाइते भएपछि राष्ट्रिय टिममा कमब्याक गर्न सकेका छैनन् । त्यस्तै, बायाँ हाते तीव्र गतिका बलर कमल खत्री कोशी प्रदेशका लागि खेल्छन् । उनी हालसम्म सिनियर टिमको बन्द प्रशिक्षणमा भने अटाएका छैनन् ।
ब्याटर लोकेश बम र स्पिनर सागर ढकालले पनि राष्ट्रिय टिममा पुनरागमन गर्न सकेका छैनन् । नेपालमा वर्षायाम चलेका कारण राम्रो तयारी र प्रशिक्षणका लागि क्यानले पहिलो चरणमा यी ६ खेलाडीलाई भारत पठाएको हो ।
अन्य खेलाडीलाई पनि नेपाल बाहिर प्रशिक्षणमा पठाउने तयारी भइरहेको क्यान स्रोतले बताएको छ । क्यानले यू-१९ का खेलाडीलाई पनि केही समय पश्चात विदेश प्रशिक्षण र अभ्यासका लागि पठाउने तयारी गरेको छ ।
अक्टोबर ३० देखि ९ नोभेम्बरसम्म नेपालले टी-२० विश्वकपको एसिया छनोट खेल्नेछ । एसिया क्षेत्र छनोटमा आयोजक नेपाल, मलेसिया हङकङ, युएई, ओमान, सिंगापुर, बहराइन र क्वालिफायर ए र बी बाट आउने दुई टोली सहभागी हुनेछन् । एसिया छनोट ए मा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेविया छन् ।
नेपालको सिनियर टोलीले अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म हुने एसिया कप खेल्नेछ । एसिया कपको समूह ए मा भारत, पाकिस्तान र नेपाल छन् । नेपालले ३० अगष्टमा पाकिस्तान र ४ सेप्टेम्बरमा पाकिस्तानसँग खेल्नेछ ।