संविधान जारीमा खुशी, दिवस मनाउँदा झर्को

संविधान जारीमा खुशी, दिवस मनाउँदा झर्को

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको थियो । ‘नेपालको संविधान २०७२’ जारी भएको आठ वर्ष पूरा भएको छ । जुन दिनको सुयोगको रुपमा आजकै दिन संविधान दिवस परेको छ । संविधान जारी भएर बितेका आठ वर्ष, देशमा तीन तहका सरकारको फरक अभ्यास चलिरहेको छ । नेपाल र नेपालीको भविष्यलाई उज्यालो बनाउने संविधान घोषणा भएको दिनलाई दिवसको रुपमा मनाईरहँदा समग्र पक्षलाई केलाउन आधार कति तयार भए ? भन्ने प्रश्न नागरिकले साशकतर्फ केन्द्रीत गरिरहेका छन् ।

देशभर संविधान दिवस मनाईरहेको छ । सरकारी तथा निजी कार्यालय, विदेशस्थित कुटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्था लगायतले आ–आफ्नै तरिकाले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाईरहेका छन् । राष्ट्रिय एकता कायम गर्ने संविधान दिवसमा खुशी हुनका लागि नेपाली नागरिकलाई कसैले छेक्न सक्दैन । तर, एकतासँग जोडिएको संविधानभित्र आफ्ना अधिकार नसमेटिएको आरोप र आक्रोशले कतिपय खण्डित अवस्था अहिले पनि यथावत रहेको छ । समग्रमा नागरिकको अधिकार समेट्न नसक्नु संविधानको दोष भएपनि यो प्रगतिशील रहेका कारण स्वतन्त्रताको उज्यालो भने घरघरमा छरिएको छ ।

सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गरेका थिए । उनीहरु नागरिकका प्रतिनिधि हुन् । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन्, जसले नेपाल र नेपालीको भाग्य–भविष्यलाई देखाएको छ ।

राजनीतिक व्यवस्था परिवर्तनका लागि उत्साहका साथ नागरिकले सहयोग गरेको आन्दोलनको बलमा संविधानसभा गठन भएको थियो । त्यहि संविधानसभाले जारी गरेको संविधानले नेपालीहरुको अधिकार सुरक्षित गरिदिएको छ । संविधान जारी भएको आठ वर्ष बितिसक्दा समेत शासकको चरित्र नफेरिएको अवस्था रहँदा भने जारीमा देखिएको खुशी, उत्सव मनाउन देखिदैन । संविधान दिवसलाई नागरिकले महत्वपूर्ण दिन भनेर सम्झनु पर्नेमा, सुन्दै निरासा व्यक्त गर्ने गरेका छन् । यस्तो स्थिति आउनुमा मूलतः राजनीतिक दलहरुको बेइमानीपन पनि हो । त्यसैले बेलैमा राजनीतिक दलका नेताहरु सच्चिने र संविधानप्रति नागरिकमा भरोसा लाग्ने बनाउनु जरुरी छ । भरोसा बिनाको संविधानले शासकलाई झन् स्वेच्छाचारिता बनाउँछ , भने नागरिक जवाफदेही बन्दैनन् । अन्त्यमा संविधान जारी भएको आठवर्ष पूरा भएको अवसरमा सबैलाई शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्