विश्वकप क्रिकेट: पाकिस्तानको नेदरल्यान्ड्सविरुद्ध ८१ रनको फराकिलो जित

विश्वकप क्रिकेट: पाकिस्तानको नेदरल्यान्ड्सविरुद्ध ८१ रनको फराकिलो जित

आईसीसी एकदिवसीय विश्वकपको आफ्नो पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सविरुद्ध ८१ रनको फराकिलो जित निकालेको छ ।

शुक्रबार भारतको हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न खेलमा पाकिस्तानले प्रस्तुत गरेको २८७ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्सले ४१ ओभरमा सबै विकेट गुमाएर २०५ रनमात्र बनाउन सक्यो ।

नेदरल्यान्ड्सका बास डे लिडेले अलराउन्डर प्रदर्शन गरे पनि टिमको हार टार्न भने सकेनन् । बलिङमा चार विकेट लिएका लिडेले ब्याटिङमा ६७ रन बनाए । यस्तै, विरन्दिप सिंहले ५२ रन बनाए । लोगन भान बिले २८, कोलिन अक्रमनले १७ र साकिब जुल्फिकरले १० रन बनाए ।

पाकिस्तानका ह्यारिस रौफले तीन विकेट लिए । हसन अलिले दुई विकेट लिँदा साहिन साह अफ्रिदी, इफ्तिखर अहमेद, मोहम्मद नवाज र सदाब खानले समान एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा आएको पाकिस्तानले ४९ ओभरमा सबै विकेट गुमाएर २८६ रनको योगफल खडा गरेको थियो ।

पाकिस्तानका रिजवान र साकिलले समान ६८ रन बनाए । ३८–३ को कठिन अवस्थामा रहँदा यी दुईले चौथो विकेटका लागि १२० रनको साझेदारी गर्दै पाकिस्तानको इनिङ उकासेका थिए ।

यसबाहेक, मोहम्मद नवाजले २९, सदाब खानले ३२, ह्यारिस रौफले १६, इमाम उल हकले १५ र फखर जमानले १२ रन थपे । साहिन साह अफ्रिदी १३ रनमा अविजित रहे ।

नेदरल्यान्ड्सका बास डे लिडेले चार विकेट लिए । कोलिन अक्रमले दुई विकेट लिँदा आर्यन दत्त, लोगन भान विक र पाउल भान मिकेरेनले समान एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्