विराटनगर । विराटनगर रानीस्थित सीमा नाकामा तालिम प्राप्त कुखुरसहितको प्रहरी टोलिले लागुऔषध र विष्फोटक पदार्थ नियन्त्रण अभियानको रुपमा चलाईरहेको छ । कोशी प्रदेशको मुख्य नाकामा प्रहरीले लागुऔषध कारोबारी, प्रयोगकर्ता र ओसारपसारमा संलग्न तथा पटाका तथा विष्फोटनजन्य वस्तु नियन्त्रणका लागि कुकुरसहितको प्रहरी परिचालन गरेको हो ।
यो अभियान अन्तर्गत मंगलबार मात्रै ४१ सवारी साधन शंकास्पद चेकजाँचमा परेका छन् भने २०० जना प्रयोगकर्ता ‘डग स्क्यानिङ्ग’ मा परेका छन् । यसरी लागुऔषध प्रयोगकर्ताको रुपमा पहिचान भएका उनीहरु जोगबनीतर्फ जाँदै गरेको अवस्था भए सीमावारी नै होल्ड हुँदै आएका छन् । सीमापारी पुगेर फर्कनेहरु भए पनि उनीहरु समातिएपछि होल्डमा पर्ने गरेका हुन् ।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्दिप वेल्वासेका अनुसार तालिम प्राप्त कुकुरसहित चेकजाँच सुरु गरिैएपछि कारोबारी भने पक्राउ परेका छैनन् । लागुऔषध ओसार–पसार गर्नेहरु समेत भेटिएका छैनन् । तर, सीमापार जोगबनी पुगेर लागुऔषध प्रयोग गरेर फर्कनेहरु धमाधम पक्राउ पर्दैछन् । उनीहरुलाई प्रहरीले ‘होल्ड’ गराएर सचेतनाका कार्यक्रम सञ्चाालन गर्दै आएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले सुरक्षा सुनिश्चितता अभियान २०८० सञ्चालन गर्दै आएको छ । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी असोज १९ गतेबाट दैनिकरुपमा सिमावर्ती इलाकामा तालिम प्राप्त कुकुर सहित थप कडाइका साथ चेकजाँच सुरु गरिएको हो ।
बिराटनगर जोगवनी तथा आसपासको सिमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसार पसार, बिष्फोटक पदार्थ तथा अन्य
अपराधिक गतिबिधी नियन्त्रणको लागि २ वटा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीद्वारा सिमा नाकामा आवत जावत गर्ने शंकित ब्यक्तिहरु तथा सवारी साधनहरुलाई चेकजाँच गर्दै आएको हो ।