विराटनगर । विराटनगरको विमास्थल क्षेत्रभित्र सञ्चालित होटल तथा रेष्टुरेन्टहरुले अधिकतम खुद्रा मूल्य भन्दा अधिक मुनाफा राखेर खानेकुरा बिक्री वितरण गरेको गुनासो आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले स्थलगत अनुमगन गर्नुभएको छ ।
अनुगमनका क्रममा विराटनगर विमानस्थलभित्र सञ्चालित ३ वटा होटल, रेष्टुरेन्ट तथा क्याफेले बढी मुनाफा राखेर चिसो पेय पदार्थ, चाउचाउ, बिस्कुट र पानी लगायतका खानेकुरा बिक्री वितरण गरेको भेटियो ।
अनुगमनका क्रममा तोकिएको अधिकतम खुद्रा मुल्यभन्दा बढी मुनाफा राखेर खानेकुरा बिक्री वितरण गरेको पाइएपछि मन्त्री किराँतीले यसलाई तत्काल सुधार गर्न निर्देशन दिनुभएको छ । मन्त्री किराँतीले विमानस्थलमा क्यू.आर कोड स्क्यानर राखेर जनताले सिधै मन्त्रालयमा सुचना दिन पाउने प्रणालीको विकास गर्न समेत निर्देशन दिनुभएको छ ।
अनुगमनका क्रममा होटल व्यवसाय सञ्चालकहरुले भाडादर महङ्गो भएका कारण अधिक मुनाफा राखेर सामान बिक्री गर्नुपरेको तर्क समेत गरेका थिए । तर, महङ्गो भाडादरको भार आमजनताले बोक्नु पर्ने कुनै आवश्यकता नरहेको बिषय मन्त्री किरातीले स्पष्ट पारेका पार्नुभयो । पसल व्यवसाय सञ्चालकहरुले तिर्दै आएको भाडादरको बिषय समेत तत्काल नियमन गर्न मन्त्री किराँतीले निर्देशन समेत दिनुभयो । मन्त्रीको निर्देशन पश्चात विराटनगर विमानस्थल प्रमुख रिन्जी शेर्पाले पसल व्यवसायहरुसँग अधिक मुनाफा नलिने शर्तमा नयाँ सम्झौता गरिने बताउनुभयो ।
मन्त्री किराँतीले यसअघि काठमाडौं अन्तराष्ट्रिय विमानस्थलमा पनि यसै किसिमको अनुगमन गर्नुभएको थियो । त्यहाँ पनि सामानमा उल्लेखित अधिकतम खुद्रा मूल्य भन्दा बढी शुल्क लिएको पाइएपछि मन्त्री किरातीले सुधार गर्न निर्देशन दिनुभएको थियो ।