भेटिएनन् तीनवर्ष अघि बेपत्ता भएका कटहरीका रामप्रसाद राजबंशी

भेटिएनन् तीनवर्ष अघि बेपत्ता भएका कटहरीका रामप्रसाद राजबंशी

विराटनगर । तीनवर्ष अगाडी २०७७ कात्तिक ३ गते कटहरी गाउँपालिका–३ का ३१ वर्षीय रामप्रसाद राजबंशी घरबाट अर्कोसँग साथ लागेर कामका लागि निकालिए । सुस्त मनस्थितिका उनलाई घरमा कोहि नभएको मौका पारेर स्थनीय रक्की भन्ने फरमेश राजबंशीले घरबाट लिएर हिँडेका थिए ।

‘उनी पैसा चिन्दैनन्, अनि सुस्त मनस्थिति भएका कारण के भईरहेको छ ? भन्ने चाँडै बुझ्दैनन्’ भाई उमेश राजबंशीले भने–घरमा कोहि नभएको मौका छोपेर रक्कीले पैसा देखाउँदै लगेको पछि खुलेको हो ।
छोरा हराएपछि बाबु कल्पनाथ राजबंशीले जिल्ला प्रहरी कार्यालय मोरङमा कार्तिक १३ गते खोजतलासका लागि निवेदन दिएका थिए । यो निवेदन दिएपछि उनको विषयमा जानकारी भए जानकारी दिन सार्वजानिक सुचना समेत जारी गरिएको थियो । त्यसपछि मात्रै रामकुमारलाई फरमेशले लिएर जाँदै गरेको अरुले देखेका आधारमा खुलेको थियो ।

कात्तिकदेखि घरपरिवारको सम्पर्कमा नआएका रामकुमारलाई फरमेशले लगेको खुलेपछि परिवारले सोधखोज गरेको थियो । २०७८ साउन १ गते फरमेशसँग सोधखोज गर्दा उनले कुनै हालतमा फर्काउन नसक्ने जवाफ दिएका थिए । त्यसपछि रामकुमारका बुबा कल्पनाथले साउनमै जिल्ला प्रहरी कार्यालय मोरङमा फरमेश विरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरीका आधारमा फरमेशलाई मोरङ प्रहरीले पक्राउ गरेपनि उनका काका तुलाराम राजबंशीको जिम्मा जमानतमा छोडिदियो ।

हराएका भनिएका व्यक्तिलाई कसैले फकाएर लगेको खुलेपनि प्रहरीले फरमेशलाई जमानतमा छोडेको थियो । भतिज पक्राउ परेपछि जमानतमा काका बसेर छुटाउँदा दाजु फर्काउने सहमति भएको थियो । तर, फरमेश र तुलारामले रामकुमारलाई घरसम्म ल्याउन नसक्ने भन्दै पीडित परिवारलाई उल्टै धम्की दिएको थियो ।

परिवारको सदस्य लैजाने व्यक्ति फरमेशले मकवानपुरको हेटौंडामा जय माँ दुर्गा टायर पसलमा काम लगाएको खुलेपछि त्यहाँबाट फिर्ता ल्याउन बाचा दिएका थिए । तर, प्रहरीले छोडेपछि फरमेश गाउँबाटै फरार भएका छन् । उनी गाउँघरको सम्पर्कमा छैनन् । तर, धरानमा बस्दै आएको उनका काका तुलारामले जानकारी दिएका छन् । तत्कालिन समयमा प्रहरीले सजिलै जिम्मा जमानतमा छोडिदिएपछि फरार भएका फरमेश र काका तुलाराम विरुद्ध परिवारले पुनः २०७९ असारमा व्यक्ति वेपत्ता पारिएको कसुरमा लिखित जाहेरी दिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङले उनको जाहेरी लिन अस्वीकार गरेको थियो ।

प्रहरीले जाहेरी लिन अस्वीकार गरेपछि बुबा कल्पनाथले उच्च अदालत विराटनगरमा परमादेश माग गर्दै रिट दायर गरेका थिए । उच्च अदालत विराटनगरका तत्कालिन कायममुकायम न्यायधीश सत्यमोहन जोशी थारु र न्यायशीश मिलनकुमार राईले जिल्ला प्रहरी कार्यालय मोरङ विरुद्ध जाहेरी लिन आदेश दिएको थियो । उच्च अदालतले निवेदकको निवेदन मागको जाहेरी दरखास्त दर्ता गरि कानुन बमोजिम गर्नु भन्दै जिल्ला प्रहरी कार्यालय मोरङका नाउँमा न्याय प्रशासन ऐन २०७३ को दफा ८(१) बमोजिम परमादेश आदेश जारी भएको थियो ।
उच्चले २०८० साल बैशाख ४ गते दिएको आदेशपछि प्रहरीले जाहेरी लिएपनि रामकुमारको अवस्था अझै अज्ञात नै रहेको भाई उमेशले गुनासो गरे ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेलले जाहेरी लिएर घटनाको अनुसन्धानका लागि फरमेशलाई पक्राउ गरिएको जानकारी दिएका छन् । उनका अनुसार पक्राउ गरेर अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइएको थियो । तर, सरकारी वकिलको कार्यालयले वेपत्ता व्यक्ति फेला नपरेको भन्दै मुद्दा चलाउन नमिल्ने राय दियो । वेपत्ता पारिएको व्यक्ति फेला नपरेपछि मुद्दा चलेन, प्रहरी उपरीक्षक पोखरेलले भने–मान्छे फेला परेको छ महिना भित्रमा मुद्दाको हदम्याद हुन्छ, यो केसमा वेपत्ता पारिएका भनिएको व्यक्ति अझै खोजतलासकै क्रममा रहेका छन् । प्रहरीले सुस्त मनस्थितिका उनी गाउँमै दुर्घटना परेर निधन भएको समेत सुन्न आएको बताएको छ । तर, परिवारका व्यक्तिहरुले तुलाराम राजबंशी काँग्रेस निकट स्थानीय नेता भएका कारण तत्कालिन समयमा प्रहरीसँगको सेटिङमा हेलचेक्राँई भएको गुनासो गरेका छन् । तर, मोरङका प्रहरी उपरीक्षक पोखरेलले भने प्रहरीले चौतर्फी खोजतलास गर्दा समेत फेला पार्न नसकेका कारण अनुसन्धानको प्रक्रिया रोकिएको बताउँछन् ।

फरमेशका काका तुलारामले हाजिरी जमानतमा बसेका कारण आफूमाथि समेत व्यक्ति वेपत्ताको मुद्दा परेको बताउँछन् । उनका अनुसार फरमेश अहिले धरानमा रबर उद्योगमा काम गर्दै आएका छन् । फरमेशकी श्रीमती भने विदेश गएकी छिन् । फरमेशलाई काका तुलारामले सुधार गृहमा समेत राखेर सुधार्न खोजेको बताए । तर, अत्याधिक मदिरा र लागुऔषध समेतको लत भएका कारण उसले रामकुमारलाई हेटौंडामा कसैको जिम्मा लगाएर पैसा लिएको हुनसक्ने अनुमान परिवारको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्