प्रलय वेदना

प्रलय वेदना

- भरत गुरागाईँ बर्बरिक
उठ् न भाइ !
एकैछिनलाई भएपनि उठिदे न कान्छा ।

चराहरु गुँड छोडेर भुइँमा ओर्लिसके,
मन्दिरमा शङ्ख बज्दैछ,
परेवाहरु खोरमा मक्मकाउँदैछन् ,
तैँले माया गरेको कुकुरपनि
यही आँगनमा घुमिराछ,
आँपको रुखबाट माथि चढेर
घामले हाम्रो आँगनलाई हेरिसक्यो,
तँ चाहिँ
कति गहिरो निद्रामा सुतिबस्छस् कान्छा !
एक पल्टलाई भएपनि उठिदे न ।

तँ सुतेको यो रातो बाकस
यो आँगनमा झरेपछि
हेर् त
बा बौलाहाजस्तो बर्बराइरहनु भा,छ,
आमा चेतनाहीन भएर
बेहोश लडिरानु भा,छ,
तेरो काले कुकुर भुकेको भुक्यै छ,
चिसो पानी बग्ने
आँगन छेउको कुलेसोमा
सप्पै गाउँलेहरुको तातो आँसु बगिरा,छ,
हेर् त
कहिल्यै नरुने कटुवाल काका
निधारमा लौरो टेकाएर
पानी बर्षिएजस्तो बर्षिरानु भा,छ,

एकपल्टलाई उठिदे न कान्छा !

सम्झिन्छु-
तँ सानो थिइस्,
मलाई बाँसको खपटाको
फिर्फिरे बनाइदिनु भन्थिस्,
कुद्धैकुद्धै फिर्फिरे उडाउँदै
परसम्म पुग्थिस्,
कागजको जहाज बनाइदिनु भन्थिस् र
जोडसँग आकासतिर हुत्याउँथिस्,
हाम्रो घर माथिको आकाश भएर
हवाइजहाज उडेको देखेपछि
त्यसलाई भेट्टाउन खुबसँग कुद्थिस्,
लडेर , घाउ पारेर
रुँदै घर आएपछि
म चरीअमिलोको झोल पारेर लगाइदिन्थेँ,
भोलिपर्सी ठूलो घर बनाएर
आमाबालाई पाल्छु भन्थिस्,
तेरो सपना अहिले
ऐनाजस्तै फुटेपछि
यता हाम्रो मुटुपनि कहाँ सग्लो छ र भाइ !
उठ् न
जुरुक्क उठेर ठुल्दादा भन्दै
यी दुबै गालामा
म्वाइ खाइदे न एकपल्ट ।

तँलाई रातो रङ खुब मन पर्थ्यो है,
त्यही भएर रातो गुलाफ रोप्थिस्,
सुन्दरी मेला भर्न मसँग जाँदा
कान्छी दिदीलाई भनेर
रातो रिबन ल्याइदिया थिइस्,
तँलाई मन पर्ने भनेर नै यो कान्छीले
रातो सयपत्री माला उनेकी थिई,
रातो रुमाल किनेर ल्याएकी थिई,
तँ रातोलाई प्रेम गर्ने मान्छे
आज रातो बाकसमा फर्केर आइस्,
भाइ उठ् न
एकपल्ट मात्र भएपनि
आमालाई आमा ! म आएँ भनिदे न,
बालाई बा ! म आएँ भनिदे न,
मलाई ठुल्दादा भनेर बोलाइदे न ।

मेरो भाइ उठ्दैन अब
मैले बुझेँ
भाइ अब हामीसँग छैन ।

मेरो भाइलाई हामीबाट कसले खोस्यो ?
कसले परदेश जान
बाध्य बनायो मेरो भाइलाई ?
हामीलाई आँसुको दहमा डुबाएर
मेरो प्यारो भाइलाई लास बनाउने को हो ?
मेरो प्यारो भाइलाई मुर्दा बनाउने को हो ?

उठ् न भाइ !
यो बाकसका भित्ताहरु भत्काउँदै
जुरुक्क उठेर भनिदे न
त्यो अपराधी को हो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्