विराटनगरको तुलसी सहकारीका बचतकर्तालाई माग दावी पेश गर्न आह्वान

विराटनगरको तुलसी सहकारीका बचतकर्तालाई माग दावी पेश गर्न आह्वान

विराटनगर । विराटनगरको तुलसी बहुमुखी सहकारी संस्था लि.को सम्पति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि दावी पेश गर्न सहकारी व्यवस्थापन समितिको कार्यालयले सूचना जारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले गत भदौ २५ गते सहकारीलाई समस्या ग्रस्त घोषणा गरेको थियो ।

सहकारी ऐन,२०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा भएसकेपछि सोही ऐनको दफा १०५ बमोजिम संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको काम सहकारी व्यवस्थापन कार्यालयले गर्नेछ । त्यसका लागि सहकारी ऐन, २९७४ को दफा ११२ वमोजिम समस्याग्रस्त संस्था वा संघका सदस्य बचतकर्ता तथा साहुहरुलाई आफुले पाउनु पर्ने रकमको माग दावी गर्न मंसिर ६ गते सुचना जारी गरिएको हो ।

यो सहकारीमा सर्वसाधारणको १ अर्ब ४८ करोड ५५ लाख रुपैयाँ निक्षेप छ । अध्यक्ष र सचिवले आफू खुशी व्यक्तिगत कम्पनीमा लगानी गरेर बचतकर्तालाई डुबाएका हुन् । संस्थाका अध्यक्ष केदारनाथ शर्मा उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपाने थिए । सदस्य आदित्यराज भट्टराई, प्रमुख प्रबन्धक मन्दीप खवास र प्रबन्धक सुरुचि पोखरेल छन् । सहकारीले अवैध तरिकाले नटराज एग्रोमा ६ करोड, तुलसी मोटर पम्पमा ३२ करोड, झापाको गौरदहस्थित तुलसी राइस तथा चिउरा मिलमा ३५ करोड, तुलसी अनुसन्धान केन्द्रमा १० करोड लगानी गरेको देखिएको छ ।

सहकारीका अध्यक्ष शर्मा शिखर अर्गनाइजेसन ग्रुपका पनि अध्यक्ष हुन् । उक्त ग्रुपले विभिन्न ३२ वटा कम्पनी खोलेको छ । ग्रुपका उपाध्यक्ष शर्माकै छोरा काल्स शर्मा छन् । यो ग्रुपले तुलसी मोटर पम्प, तुलसी राइस एन्ड च्युरा प्लान्ट, तुलसी कृषि अनुसन्धान केन्द्र, गाईघाट खाँबु, गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर, गाईघाट, दमक र लेटाङ, नटराज एग्रो प्रालि, गोर्खा टी एण्ड कफी इप्रालि, तुलसी शोरुम तथा उपकार ब्रान्डका विभिन्न खाद्य सामग्री उत्पादन र बिक्री गर्छ ।

सहकारीको विराटनगरमा मात्र करिब ५ हजार सर्वसाधारणको ५० करोड बचत छ । मोरङ, झापा, सिरहा र उदयपुरको बचतकर्ताको रकम जोड्दा १ अर्ब ४८ करोड ५५ लाख अनुमान गरिएको थियो । तीमध्ये ४८ करोड ऋणमा र उद्योग तथा डिपार्टमेन्टमा ७५ करोडभन्दा बढी लगानी छ । समितिले आफ्नो वेवसाइटमा गएर सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र अनलाईन मागदावी आवेदन मार्फत सप्रमाण दावी पेश गर्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्