विराटनगरमा सुर्तिजन्य वस्तुको नियमन : बजारमा बिक्री वितरण गर्नेलाई १० हजार जरिवाना

विराटनगरमा सुर्तिजन्य वस्तुको नियमन : बजारमा बिक्री वितरण गर्नेलाई १० हजार जरिवाना

विराटनगर । विराटनगरको बजारमा प्रतिबन्धित सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्दै हिडेको भेटाएपछि एक व्यापारीलाई महानगरले १० हजार जरिवाना तिराएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ८ बस्ने असोकलाल श्रीवास्तावले साईकलमा राखेर विराटनगरको बजार क्षेत्रमा विक्री वितरण गर्दै हिडेको महानगरको टोलीले भेटाएपछि उनलाई १० हजार जरिवाना तिराएको हो ।

महानगरको टोलीले यस अघि पनि श्रीवास्तवलाई बजार क्षेत्रमा सुर्तिजन्य पदार्थ विक्री वितरण गरेको भेटाएपछि सम्झाई बुझाई छाडेको थियो । तर पटक पटक महानगरको निर्णयलाई अटेर गरेपछि विराटनगर महानगरपालिकाको सुर्तिजन्य पदार्थ विक्री वितरण र सेवन गर्न नियन्त्रण र निषेध गर्ने ऐन २०८० अनुसार १० हजार जरिवाना तिराएको विराटनगर महानगरपालिका नगर प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए । महानगरले श्रीबास्तवलाई काटेको यो १० हजार जरिवाना पहिलो रहेको महानगरले जनाएको छ ।

विराटनगर महानगरपालिकाले सार्वजनिकस्थलमा सूर्तिजन्य पदार्थ सेवन र बिक्रीमा थप कडाइ गरेसँगै महानगरको टोली अहिले पसल पसलमा पुगेर छापा हान्न थालेको हो । गत साउन १ गतेदेखि विराटनगर महानगर क्षेत्रका सार्वजनिकस्थलमा सूर्तिजन्य पदार्थको सेवन र बिक्री वितरणमा रोक लगाएको थियो ।
गत १ बैशाखमा महानगरपालिकाको कार्यपालिका बैठकको निर्णय अनुसार सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गर्ने निर्णय गरेको थियो । सोहीअनुसार महानगरले विभिन्न सञ्चारमाध्यममा सूचना प्रकाशित गर्नुका साथै माइकिङ गरेर निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै आएको थियो ।

‘सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ कडाइका साथ लागु गरेर कार्यन्वयनमा लिएर जानेछौं,’ पौडेलले भने, ‘महानगरले विराटनगरको सार्वजनिक स्थलमा १ साउनबाट सुर्तिजन्य पदार्थ बिक्री वितरण र सेवनमा पूर्ण रुपमा रोक लगाएको छ ।’ पौडेल भन्छन्, अटेर गर्नेलाई ऐनमा भएको नियमअनुसार कारवाहीको दायरामा ल्याउन थालेका हौँ ।

सुर्तिजन्य पदार्थको सार्वजनिकस्थलमा बिक्री वितरण नगर्नको लागी सबै संघसंस्था, विराटनगरवासीले साथ सहयोग गरिदिन महानगरले आग्रह गरेको छ । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले सार्वजनिकस्थलमा सुर्तिजन्य पदार्थको सेवन र बिक्री वितरणमा कडाइ गर्न सुरू गरेको हो । चुरोट, गुट्का, खैनीलगायतका सूर्तिजन्य पदार्थको सेवनले क्यान्सर लगायतका रोग लाग्नुका साथै फोहोरसमेत हुने भएकाले महानगर कठोर रुपमा उत्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्