गुमेको बाल्यकाल

गुमेको बाल्यकाल

सुजता लिम्बू
विराटनगर । तिमी बा सँग बस्नेकी आमासँग ? आमाले सोधेको प्रश्नको धर्म संकटमा परेकी ‘सकुन’ आँखामा आक्रोश व्यक्त गर्दै टोलाइन् ।

बाल्यकाल बच्चा बनेर हुर्किन पाइनन् । बा र आमाको झगडाको चक्रव्यूहमा फसेकी उनी किशोर अवस्थामा प्रवेश गर्दा समेत त्यहाँबाट उम्किन सकिनन् । अझै पनि बाआमाको माया भाग बण्डामा चलिरहँदा आमालाई मुखभरीको जवाफ दिन तयार नभएकी पनि होइन । किनकी त्यो भाव उनको आँखामा झल्किरहेको थियो । तर, आमाको ममताको अगाडी उनको आक्रोशले विश्राम लियो । बा एकातिर अर्की आमासँग आमा सन्तानको भविष्य र भोको पेट बोकेर आफ्नै कामको रफतारमा दौडिरहेकी हुन्छिन् । उनको भावना बुझ्ने उनको मन बाहेक केही र कोही छैन ।

अभावको रापले पिल्सिएर सन्तानको खुशी र आफ्नो जिम्मेवारी खोज्दै हिँडेकी सकुनको आमा समाज र परिवारले बुझ्ने फरक बुझाईले पनि आजित बनेकी थिइन् । गरिब त्यसमा पनि एक्ली आमा हुनु महापाप रहेछ भन्दै पुरपुरोमा हात लगाउदा सहानुभुतिमा कसैले स्वार्थले धाप मार्थे त कोही फाइदाको हिसाब राखेर साथ दिने नाटक रच्थे । यस्तै फाइदा र नाफाले उम्रिएको सम्बन्धको झाडी पन्छयाउदै एक्लो जीवन काटेकी सकुनकी आमाको सम्पत्तिको नाममा त्यही छोरी छिन् । झगडाको माहोल र बाआमाको विछोडमा हुर्किएकी सकुन उमेरै नपुगी परिपक्व बनिन् ।

उसलाई न बासँग बस्न मन थियो न आमासँग पाए बाआमासँगै बस्न मन छ । तर मनमा आएको कुरालाई मुखले व्यक्त गर्र्न सकिरहेकी थिइनन् । विद्यालयमा कहिलेकाँही साथीसँग मनको कुरा भन्ने गरेकी रहेछिन् ,‘सबैको बाआमा सँगै हुँदा मेरो पनि होस् जस्तो लाग्छ ।’ यस्तै भावनासँग बगिरहेकी सकुनलाई मायाको अभाव भएको महसुस गर्न थोलकी छिन् ।

त्यसैले हिजोआज कसैको प्रेममा पर्न खोजेकी रहेछिन् । उमेर र पढाईलाई मध्यनजर गर्दै भविष्यको बाटो देखाउने आफन्त र आमाले रोक्दारोक्दै बाटो बिराउनु खोज्नु सायद सकुन हुर्किएको पारिवारिक पृष्ठभूमिको प्रभाव पनि हुँदो हो । उनी कहिल्यै शान्तिले हुर्किन पाइनन् । न पेटमा हुँदा न जन्मिदा । पेटमा हुँदा पल्टनमा रहेको बा ले कहिल्यै पेट भित्रको छोरीलाई सोध्न चाहेनन् । आमा प्रसव पिडामा हुँदा र जन्मेपछि पनि बा को काखमा लुटुपुटु भएर मायमा डुब्न नै पाइनन् । बाको माया र छाँयामा हुर्किन नपाई बढ्दै गरेको उमेरले एकैचोटी विछोडको चोट बेहोर्नु परेको थियो । सँधै कोलाहल र बिछोड बेहोरेको बालापन कहिल्यै आमा र बाको आडमा हुर्किन पाएन । आजभोलि उ निक्कै टोलाउन थालेकी छिन् । घरिघरि आफैँभित्रको निर्णय सम्झेर होला आर्कोषित पनि हुन्छिन् । मनमा के चलेको छ कसैलाई व्यक्त गरे त मरिजाउ अँह, आफैभित्र हराइरहेकी हुन्छिन् ।

कहिलेकाँही आमाको काँधमा लाडे हुँदै लेपासिन्छिन् । सायद उनलाई फेरी बाल्यकाल खोतल्न मन लाग्दो होे । फेरी के सोँच्छिन् कुन्नि ? झटट् टाउको उठाउदै फुत्त उठेर बाहिर निस्किन्छिन् । एकान्त मन पर्नु थालेको छ, मौनता भित्र हराउन थालेकी छिन । सात वर्षको उमेरदेखि आमा र बा बाट टाढा रहेर आफै हुर्किएकी सकुनको मनमा अनेक प्रश्नले डेरा जमाउदो हो । आमा टाढा हुनु भनेको के हो ?आमालाई पनि प्रश्नको घेराबन्दि भित्र पार्दिन्छिन् । त्यसो त आमाले छोरीले सोधेको प्रश्नलाई हसज बनाउदै उत्तर दिन्छिन् ‘टाढा हुनु भनेको फेरी टाढिएका सँग भेट हुनु हो ।’
आमाको उत्तरबाट खासै चित्त नबुझेर होला फेरी टाढिएकोसँग भेटेर पनि भेटेको जस्तो अभास कि हुँदैन ?

१४ वर्षको छोरीले सोधेको प्रश्नले सकुनको आमा जवाफ विहिन हुन्छिन् । धेरै नबोल्ने स्वभावकी सकुनलाई आमाले सोधेको प्रश्न बा सँग जानेकी म सँग बस्ने ? प्रश्नले पिरोल्दो हो । कुनै पनि प्रश्नको जवाफ आमाबाट चित्त बुझ्ने तरिकाले नपाएपछि उनी आफैँ भन्छिन् ।
जहाँ जाँदा आफन्त भेटीएको अभास हुन्छ म त्यहीँ जान्छु । मलाई फेरी बच्चा हुन छ ।

अहिले बुझेर अबुझ भए मलाई बुझ्दै नबुझ्ने सानो नानी हुनु छ । शान्त तरिकाले सकुन आमालाइ फेरी प्रश्न गर्छिन , ‘आमा मलाई फेरी बाल्यकालमा फर्काउन सक्नु हुन्छ ? ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्