विराटनगरमा ब्राउन सुगरसहित दुईजना महिला पक्राउ : घर छोडेर कोठा, सीमा वारपार कारोबार

विराटनगरमा ब्राउन सुगरसहित दुईजना महिला पक्राउ : घर छोडेर कोठा, सीमा वारपार कारोबार

विराटनगर । विराटनगर–१७ घर भएकी ३० वर्षीया सरस्वती गुरुङ विराटनगर–१६ बर्माटोलका कार्तिक पण्डितको घरमा कोठा लिएर बस्दै आएकी थिइन् । उनी मंगलबार (हिजो) लागुऔषध ब्राउन सुगरको कारोबार गरेको आरोपमा पक्राउ परिन् । उनलाई इलाका प्रहरी कार्यालय रानी र लागुऔषध ब्यूरो विराटनगरको टोलिले घर कोठाबाटै नियन्त्रणमा लिएको हो ।

उनी भन्दा अगाडी विराटनगर–१५ बैंक रोडमा पक्राउ परेकी थिइन् १९ वर्षीया अनिता बैठा । नेपाल–भारत गर्ने क्रममा विराटनगर–१७ की बैठालाई चेकजाँच गर्ने क्रममा उनको साथबाट १९ दशमल ३३ ग्राम ब्राउन सुगर बरामद भएको थियो ।
ठूलो परिमाणमा ब्राउन सुगर बरामद भएपछि प्रहरीको प्रारम्भिक सोधपुछमा बैठाले गुरुङबाट लिएको खुलाएकी थिइन् । मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार सीमा नजिक कोठाभाडामा लिने र लागुऔषधको कारोबार गर्ने उनीहरु विरुद्ध अनुसन्धान सुरु गरिएको छ । बैठालाई नियन्त्रणमा लिएपछि उनले खुलाएको आधारमा गुरुङको घरकोठा खानतलासी गर्दा डिजिटल तराजु समेत बरामद भएको छ ।

सानो परिणाम वजन गर्न मिल्ने डिजिटल तराजु नै राखेर गुरुङले ब्राउनसुगरको कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको हो । प्रहरी नायव उपरीक्षक दाहालले यसभन्दा माथिको स्रोतको पहिचान हुन बाँकी रहेको छ । तर, ब्राउनसुगर एकैजना व्यक्तिबाट १९ ग्रामभन्दा बढी पक्राउ पर्नुले कारोबारीले सीमातर्फ सञ्जाल फैलाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी नायव निरीक्षक उज्वल खड्की र लागुऔषध ब्यूरो विराटनगरका प्रहरी वरिष्ठ नायव निरीक्षक दिपककुमार यादवको संयुक्त टोलिले अनिता बैठालाई पक्राउ गरेपछि गुरुङसम्म पुग्ने पहुँच बनेको थियो । दुवैमाथि इलाका प्रहरी कार्यालय रानीले अनुसन्धान गरिरहेको छ ।

यसैगरी मंगलबार नै मोरङको पथरीशनिश्चरे नगरपालिका–४ बकाईनो डाँडाका ३३ वर्षीय चित्रकुमार रकाल (विश्वकर्मा) को किराना पसलबाट २५ ग्राम ब्राउनसुगर बरामद गरिएको छ । विशेष सुचनाका आधारमा प्रहरी छापा हानेर ब्राउनसुगरसहित बिश्वकर्मालाई नियन्त्रणमा लिइएको हो ।

केहि समय अगाडीसम्म झापाको सीमा क्षेत्रबाट लागुऔषध ओसारपसारमा किशोरी तथा महिलालाई प्रयोग गरिदैं आएको थियो । किशोरीहरुमार्फत चन्द्रगढी बिमानस्थलबाट समेत लागुऔषध लाने गरेको सुचना पाएपछि कडाई गरिएको थियो । झापामा धमाधम किशोरीहरु पक्राउ परेपछि कारोबारीहरुले नाका परिवर्तन गरेर विराटनगरका किशोरीलाई प्रयोग गर्न थालेको हुनसक्ने आशंका गरिएको छ । दुईदिन अगाडी समेत विराटनगर–१० मा कोठा भाडामा लिएर गाँजा कारोबार भईरहेको अवस्थामा चारजना पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्