कनेक्ट आईपीएस ह्याक गरेर छिनकोछिन दशलाख १० हजार गायब

कनेक्ट आईपीएस ह्याक गरेर छिनकोछिन दशलाख १० हजार गायब

विराटनगर । गत माघ ९ गते १० बजेर १५ मिनेटमा सुनसरी इनरुवा २ का शिवनन्दन मेहता र उनकी आमा रुशनी देवी मेहताको बैंक खाताबाट एकाएक दशलाख दश हजार रुपैँया अपरिचति व्यक्तिको नाममा रकामान्तर भएको मोवाइलमा म्यासेज आयो ।

आमा–छोराको नामका बैंक खातामा भएको पैसा कनेक्ट आईपीएस ह्याक गरेर रकामान्तर भएपछि उनीहरुले बैंक तथा प्रहरीसम्म गुनासो गरे । रकामान्तर भएको खाता रोक्काको प्रक्रियाका लागि आग्रह गरेपनि त्यो संभव भएन । शिननन्दनका अनुसार सानिमा बैंकको इनरुवा शाखास्थित बैंक खाताबाट एनआईसी बैंकको बुद्धचौक शाखामा रहेको परासर थापा क्षेत्रीको नाम रहेको व्यक्तिको खातामा नौलाख रकामान्तर भएको हो ।

यसैगरी उनकी आमा रुशनीदेवीको नामको लुम्बिनी विकास बैंक इनरुवा शाखाको खाताबाट सिद्धार्थ बैंक कुमारी पाटी शाखामा खाता रहेको अफसोर टिच प्राइभेट लिमिटेडको खातामा २२ पटकसम्म ५००४ का दरले रकामान्तर गत माघ ९ भएको थियो ।

मेहताले यस विषयमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अपराध अनुसन्धान महाशाखामा समेत उजुरी दिएका छन् । त्यसैगरी आफ्नो खाता भएको बैंकमा जानकारी गराउँदा विपक्षीको खाता रोक्का हुन सकेन । सानिमाले पैसा काटेको भौचर लिएर एनआईसी बैंकमा पठाउँदा उक्त बैंकले समेत प्रहरीको रिपोर्ट बिना खाता रोक्का गर्न नसक्ने जानकारी दिएको उनले बताए ।

त्यसपछि कनेक्ट आईपीएसमा फोन गरेर जानकारी गराउँदा समेत प्रहरीको रिपोर्ट चाहिने जानकारी दिएको उनले बताए । तर, उनको ट्रान्सफर भएको रकम विपक्षीले झिकिसकेको जानकारी कनेक्ट आईपिएसले दिएको थियो । आमा र छोराले नचिनेका व्यक्तिहरुको खातामा पैसा रकामान्तर भएको जानकारी बैंकमा गराउँदा समेत पैसा सुरक्षित गर्न नसकेको उनीहरुको गुनासो छ ।

ठूलो रकम एकाएक बैंकबाट रकामान्तर गरेर गायब भएपछि अहिले उनीहरु न्यायको पर्खाईमा रहेका छन् । यस विषयमा प्रहरीसँग बुझ्दा अनुसन्धान भइरहेको भन्ने मात्रै जानकारी आउने गरेको गुनासो गरे । उनले बैंकमा पैसा सुरक्षित नहुँदा तनाव सिर्जना भएको बताए । अनुसन्धान गर्ने निकाय, राष्ट्र बैंक र बैंकहरुले व्यक्तिको रकम गायब हुँदा समेत ध्यान नदिएको मेहताले गुनासो गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्