‘अगस्त्य च्याप्टर १’मा देशकै कथा

‘अगस्त्य च्याप्टर १’मा देशकै कथा

काठमाडौं । चार वर्षअघि रिलिज फिल्म ‘लभ डायरिज’बाट सौरभ चौधरीले नेपाली फिल्ममा निर्देशकका रुपमा ‘डेब्यू’ गरे । सुशील श्रेष्ठ र रुबिना थापा स्टारर यो फिल्मबाट उनले राम्रै चर्चा पाए । यिनै सौरभ यही फागुन १८ गतेबाट फिल्म ‘अगस्त्यः च्याप्टर १’ लिएर दर्शकमाझ आउँदैछन्।

सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, प्रमोद अग्रहरिसँगै मलिका महतजस्ता कलाकारको अभिनय रहेको फिल्मले विशेषत मधेसको पृष्ठभूमिमा कथा अगाडि बढाएको छ । फिल्मको टिजर र ट्रेलर हेर्दा पनि सहजै यही अनुमान लगाउन सकिन्छ । तर निर्देशक सौरभ फिल्मले मधेसको मात्र कथा नभएको दाबी गर्छन् । ‘फिल्मको ट्रेलर र टिजर हेर्दा मधेसको कथाजस्तो देखिए पनि यसमा मधेसको कथा नभई समग्र देशको कथा छ । मंैले लकडाउन अघि र लकडाउनको समयमा देखेको दुई घटनालाई मर्ज गरेर स्क्रिप्टको कन्सेप्ट बनाएको थिएँ । फिल्म दर्शकका लागि सिनेमाट्रिक छ, उहाँहरुले अहिलेसम्म समाजमा नभनिएका कथा हाम्रो फिल्ममा पाउनुहुनेछ’, सौरभ भन्छन् ।

सौरभले आफूले फरक कथामा फिल्म बनाउन चाहिरहँदा त्यो चाहना ‘अगस्त्य च्याप्टर १’ मा पुरा भएको बताए । ‘मलाई आजको दिनमा निश्चित जनरा भन्दा पनि स्क्रिप्ट कस्तो छ, त्यही अनुसार काम गर्न मनपराउँछु । स्क्रिप्ट युनिक भयो भने निर्देशकलाई पनि काम गर्न मज्जा हुन्छ । एक्सन भन्दा लभस्टोरी खिच्न निकै सजिलो हुन्छ । तर मज्जा चाहिँ एक्सनमै आउँछ । मलाई सस्पेन्स थ्रिलरको कथा बढी मनपर्छ । दर्शकलाई बाँध्न सक्ने किसिमको कथावस्तुमा काम गर्न बढी मजा हुन्छ’, सौरभ खुल्छन् । यो फिल्मको दोस्रो भाग अर्थात् ‘अगस्त्य च्याप्टर २’ को कथा पनि उनले तयार पारिसकेका छन् । पहिलो भागले दर्शकबाट कस्तो प्रतिक्रिया पाउँछ त्यही अनुसार दोस्रो भागको काम सुरु हुने उनी बताउँछन् ।

सौरभको अनुभवमा आफ्नो फिल्ममा नाम चलेका कलाकारले अभिनय गरे पनि उनीहरुलाई स्क्रिनमा उतार्न उनलाई गाह्रो भएन । ‘किनभने फ्लोरमा जानुअघि मलाई ब्याकप माइन्डमा थियो । अलिक लाउड देखिएला कि सुनिएला कि भन्ने थियो । तर कुनै पनि क्यारेक्टरलाई स्क्रिनमा उतार्न गाह्रो भएन’, सौरभ भन्छन्, ‘किनभने सिन खिच्नु अघि सरसल्लाह हुन्थ्यो, त्यो हिसाबले मैले सोचे अनुसार नै काम कलाकारले गर्नुभएको छ ।’
डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्ममा विजय बराल, रविन्द्र झालगायतका कलाकारको पनि अभिनय छ । फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्