पोल्याण्ड भन्दै झुक्याएर दिल्लीको बास, ऋणले थिचेर घरपरिवारको बिल्लीबाठ

पोल्याण्ड भन्दै झुक्याएर दिल्लीको बास, ऋणले थिचेर घरपरिवारको बिल्लीबाठ

विराटनगर । कक्षा १२ अध्ययन सकाएपछि विराटनगर–३ निवासी आरती गडेरीलाई उनकी बहिनी आइसाले एउटा कुरा सुनाइन् । बहिनीले आफुसँगै काम गर्दै आएका राजु शर्मा पोल्याण्ड जाने तयारीमा रहेको कुरा सुनाएपछि आरतीको मनमा उत्साह जाग्यो ।
घरपरिवारमा सल्लाह भएपछि पोल्याण्डका लागि भिसा लगाउनेसम्मको तम्तयार भयो । बहिनीले लिएको नाम राजु शर्मासँग भेट गरिन् । राजुले विराटनगर–१५ धुँनिया बस्तीका मुस्तफा खानमार्फत जान लागेको सुनाए । उनीपनि राजुसँग लागेर मुस्ताफासम्म पुगिन् ।

पोल्याण्ड जाने चक्करमा आरती २०७९ भदौ १४ गते दिल्ली लागिन् । पठाएका थिए मुस्तफाले । साथ लगाएका थिए धादिङका रेसा तामाङसँग । आरती जस्तै पोखराका प्रकाश सुवेदी, प्रकाश गुरुङ, राजु शर्मासहित सातजना धादिङका तामाङसँग भारतको नयाँ दिल्लीस्थित महिपालपुरको ३ नम्बर गल्लीमा छ महिना थुनिए । उनीहरुलाई त्यहाँ भिसा लगाउन भनेर होटलमा राखिएको थियो । निजी खर्चमा भदौदेखि फागुनसम्म होटलमा उनीहरुलाई बसाएर यता घरका परिवारसँग मुस्तफाले रकम मागिरहे ।

आरतीका अनुसार कनेक्ट आईपिएसमार्फत सीता रानाको खातामा सात लाख एकमुष्ट पठाएपछि पोल्याण्ड जान पाइने बताएपछि घरपरिवारले जग्गा धितो राखे। पैसा हालिसकेपछि थप एकलाख मागियो, त्यो पनि बुझाए । आरतीका दाजु बिनोदका अनुसार दिल्लीमा लगेर राखेर बारम्बार पैसा माग्न थालेपछि शंका लाग्यो । त्यसपछि बहिनीलाई नेपाल फर्काउन पहल थाले । सहजै आउन नदिने भएपछि दिल्लीमा रहेका सातमध्ये पाँचजना एकमुख भए ।

त्यसपछि सँगै गएकामध्ये रेसा तामाङ र विराटनगरकै राजु शर्मा भागे । उनीहरु भागेपछि होटलले लागेको सबै खर्च बुझाएर मात्रै जान पाउने भन्दै रोक्यो । आरतीसहित पोखराका प्रकाश सुवेदी र गुरुङले घरबाटै रकम मागेर बुझाएपछि बल्ल छोड्यो ।
घर फर्केर आएपछि आरतीसहितको टोलिले विराटनगर–१५ रानीका मुस्तफा खानलाई झिकाएर कारवाही गरिदिन जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका थिए । जिल्ला प्रशासन कार्यालय मोरङले सम्बन्धित व्यक्ति झिकाउन जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरो । जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय रानीलाई निर्देशन दियो ।

एकवर्षदेखि मुस्तफा सम्पर्कमा छैनन्, प्रहरीले उनलाई पक्राउ पनि गर्न चाहेको छैन, आरतीले भनिन्–आफैं खोजेर खबर गर्नुभन्नुभयो, म कहाँ खोजौं ! आरतीको घरपरिवारमा उनलाई विदेश पठाउन जोरजाम गरेको ऋणको भार थपिदो छ । तर, उनी न पोल्याण्ड पुगिन् न त परिवारले बुझाएको पैसा फिर्ता हुनसक्ने संभावना जीवित छ ।

आरतीका अनुसार योजनावद्ध ढंगले दिल्ली पु¥याएर लामो समयसम्म अल्झाएपछि सँगै गएका दुईजना भागेका थिए । उता अल्मल्याएर यता परिवारसँग पैसा असुल्ने काम मुस्तफाले गरिरहे । अहिले मुस्तफा सम्पर्कविहीन छन् । उनले त्यसबेला चलाउने फोन नम्बरहरु अहिले चल्दैनन् । उनले भनिन्–अन्तिममा अब मिडियामार्फत न्याय माग्नुपर्ने अवस्था आयो, परिवारको एउटा सदस्यलाई झुक्याउँदा सबैजना समस्यामा भासिने दिन नजिक आईसक्यो । विदेश पठाउने भन्दै पैसा असुलेका मुस्तफा कहाँ छन् पत्तो छैन । आरतीका दाजु बिनोदका अनुसार झण्डै १२ लाख रुपैँया खर्च भएको थियो । उनीहरुसँग रहेको १४ धुर जग्गा धितो राखेर ऋण लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्