अनलाइन ठगीबाट सुरक्षित रहौं

अनलाइन ठगीबाट सुरक्षित रहौं

गत माघ महिनामा सुनसरीको इनरुवाका एक युवाको बैंक एकाउन्ट ह्याक गरेर कनेक्ट आईपिएसमार्फत नौलाख रुपैँया चोरी भएको थियो । सानिमा बैंकमा युवाले बचत गरेको रकम एनआईसी एशिया बैंकमा अर्काको नाममा ट्रान्सफर गरेर झिकिएको थियो ।
रकम ट्रान्सफर र झिक्ने प्रक्रिया एकदमै चाँडो हुँदा बैंकको पैसा बैंकबाटै चोरी भयो । बैंकले प्रहरीको रिपोर्टका आधारमा मात्रै पैसा रोक्का गर्नसक्ने भन्यो, प्रहरीसम्म पुगेर उजुरी दिने र पत्र बनाउने कार्यमा समय लाग्यो । त्यसबेलासम्ममा उनको एकाउन्टको पैसा ट्रान्सफर गरेर अर्कैले झिकिसकेको थियो ।

इनरुवाका यी युवाको पैसा ट्रान्सफर भएको खातावाला प्युठानका व्यक्ति हुन् । प्रहरीले अनुसन्धान गर्दै जाँदा पैसा ट्रान्सफर गरेर झिक्ने व्यक्तिसमम पुग्न सकेको छैन । जसको एकाउन्टमा पैसा ट्रान्सफर भयो, त्यो व्यक्ति घटनामा संलग्न नै देखिदैन । इनरुवाका शिवनन्दन मेहता अहिले आफ्नो नौलाख रुपैँया पैसा फिर्ता ल्याउन काठमाण्डौंमै भौतारिरहेका छन् । उनी नराम्रोसँग क्षति बेहोर्ने पीडित बनेर पनि न्याय पाउन नसक्ने अवस्थामा छन् । त्यसैले अनलाइन ठगी अनुसन्धानको पहुँच भन्दा बाहिर रहेकोले सबैले यसबाट सुरक्षित हुन स्वसचेत जरुरी छ ।

प्रहरीले अनलाइन ठगीका घटना बढीरहेका बेला मोरङबाट तीनजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । जसमा दुईजना बंगलादेशका नागरिक छन् । जसले नेपाली नागरिकता र राहदानी समेत लिएको देखिन्छ । उनीहरु परोपकारी संस्थाको नाममा आर्थिक सहयोग गरेको देखाउँदै सुन्दरहरैंचा–८ सलकपुरमा सर्वसाधारणको नागरिकताको प्रतिलिपि र फोटो संकलन गरिरहेको बेला फागुन २८ गते पक्राउ परेका हुन् । यी व्यक्तिमाथि प्रहरी अनुसन्धान जारी रहेको छ। प्रहरीले अन्तरदेशीय संगठित ठगी गिरोह रहेको आशंका गरेको छ ।

अनलाइन ठगीका घटना बढीरहेका बेला प्रहरीले यसबाट सुरक्षित हुनका लागि सबैसँग आग्रह गरेको छ । अनलाइन वालेट ईसेवा, खल्ती जस्ता एपमा खाता खोलेर पैसा ट्रान्सफर गर्ने कार्यका लागि विभिन्न गतिविधि हुनसक्ने देखिन्छ । व्यक्तिगत पहिचान खुल्ने कागजात भए कसैले पनि बैंक एकाउन्ट खोल्न सक्ने संभावना रहेको छ । त्यसरी खोलिएका खातामा कुनै एकाउन्ट ह्याक गरेर रकम ट्रान्सफर गर्ने र झिक्ने कार्य हुनसक्छ । प्रहरीले व्यक्तिगत कागजात कसैलाई पनि नदिन समेत आग्रह गरेको छ । परोपकारी संस्थाको नाममा व्यक्तिगत पहिचान खुल्ने नागरिकता र फोटो माग्ने काम केहि योजनाकैलागि हुनसक्ने संभावना रहेको प्रहरीको आंकलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्