हत्यामा संलग्न तीनजना १६ वर्षपछि पक्राउ

हत्यामा संलग्न तीनजना १६ वर्षपछि पक्राउ

विराटनगर । प्रहरीले २०६४ साल जेठ २० गते मोरङको मिक्लाजुङ–१ (साविक रमिते–४) मा भएको हत्याको घटनामा संलग्न भई हालसम्म फरार रहेका तीनजनालाई पक्राउ गरेको छ । घटना भएको १६ वर्षपछि मिक्लाजुङ–१ का ४८ वर्षीय जीतबहादुर राई, ४१ वर्षीय ज्ञानबहादुर राई र ४० वर्षीय लक्ष्मण राईलाई पक्राउ गरेको हो । पक्राउ परेका लक्ष्मण राईलाई चैत ६ गते काकडभिट्टाबाट र अन्य दुईजनालाई गाउँबाटै पक्राउ गरेर अदालतमा उपस्थित गराइएको हो ।

प्रतिवादीहरुले २०६४ साल जेठ २० गते मिक्लाजुङ–१ हर्कराज राईको घरमा भेला भएको बखत ३८ वर्षीय सन्तोष राईमाथि आक्रमण गरेर हत्या गरेका थिए । लाठ्ठि र भाटाले कुटपिट गरेर राईको हत्या गरेपछि केमुना भन्ज्याङ्गको जंगालमा खाल्डो खनेर पुरेका थिए । घटनापछि कर्तव्य ज्यान कसुरमा जिल्ला अदालत मोरङले २०७७ फागुन १८ गते जन्मकैदको फैसला सुनाएको थियो ।

उच्च अदालत विराटनगरले २०७८ पुस १३ गते र सर्वोच्च अदालतले २०८० साउन १६ गते जिल्ला अदालतकै फैसला सदर गरेको थियो । फैसला कार्यन्वयन गर्ने क्रममा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटि गएको प्रहरीको विशेष टोलिले उनीहरुमध्ये दुईजनालाई गाउँघरबाटै र अर्का एकजनालाई काकडभिट्टाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्