होली उत्लास होस्, शुभकामना

होली उत्लास होस्, शुभकामना

रंगको पर्व होली पूणिर्मा फाल्गुनी नक्षत्रमा पर्दछ । यद्यपी तिथिले यस पटक नक्षत्र फाल्गुनी पारेर चैतमा होली पूर्णिमा परेको छ । रहनसहन, आर्थिक क्रियाकलाप, चाडपर्व, संस्कार आदि कार्यहरू ऋतु र महिनाको प्रकृति अनुसार सुनिश्चित र व्यवस्थित हुन्छन् । फाल्गुन महिना प्रिय हुन्छ । ऋतुमा वसन्त प्रकृतिको वरदान मानिन्छ । रुखहरुले पालुवा फेरेर वसन्तमा सुगन्ध दिने मन्जर छोड्न थाल्दछन् । जाडो सकिएर गर्मी भित्र्याउन मन्द गतिको हावाले पालुवा र फलका फूलको सुगन्धलाई फैलाईरहेको हुन्छ । कोइलीको मधुरता पनि उस्तै छाईरहेको हुन्छ ।

यी सबै कुराबाट मन आनन्दले भरिएर नयाँ ऊर्जा, नयाँ उत्साह जागृत हुन्छ । मन भरङ्ग बनाउने मौसमको संयोजन वसन्त ऋतुमा पर्ने होली सबैका लागि उमङ्ग भर्न सक्षम हुन्छ । यसको धार्मिक मान्यता जे जस्तो भएपनि सम्बन्धमा एकता भर्ने सन्देश छरिरहेको हुन्छ । होलीमा प्रयोग हुने रङ्गहरुको केमेस्ट्री फरक–फरक हुन्छ । त्यसलाई पर्वमा एकले अर्कोलाई अर्पण गर्दा सम्मानभाव जगाउँदछ । नेपालीबीच एकअर्कोमा सम्मानभाव जाग्न सक्दा एकतामा जोड्दछ ।

यो वर्ष फागु पूर्णिमा चैतमा परेका कारण होली पर्व आइततबार पहाडमा धुमधाम साथ मनाइएको छ । सोमबार तराईले होलीमा आफ्ना मन साट्छ । मित्रतामा बाँध्नका लागि होलीको उत्साह फरक तरिकाले प्रस्तुत गर्ने प्रचलत रहँदै आएको छ । यो प्रचलत भित्र पनि कतिपय कुरा विकृत हुने गरेका छन् । होलीमा रमाउनै पर्ने अवस्था सबैसँग नहुन पनि सक्छ । त्यसकारण कसैले सबैलाई रङ्ग लगाउनै पर्छ भन्ने सोच राख्न हुन्न । अर्कोतर्फ होलीमा मादक पदार्थ, तथा मात लाग्ने किसिमका कतिपय कुराहरुको खानपीन बढ्दो छ । जसको असर सामाजिक विकृतिको पैदा हुनसक्ने संभावनामा जोडिन्छ । सद्भाव र एकता बढाउनका लागि मनाईने होलीको मान्यतालाई अन्य कुनै कारणले विकृत बन्नबाट रोक्नसक्नुपर्दछ । यो सामाजिक उत्तरदायित्वमा पर्दछ ।

अन्त्यमा होलीले एकतालाई बलियो बनाउन सहयोग गरोस् । मित्रभावको मन उजागर गरोस् । नयाँ पालुवा फेरेका रुख झैं जीवनमा पुराना कुरालाई छोडेर नयाँ सोच विकास होस् । होली उमङ्ग र उत्साह भरेर बिदाई होस् शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्