ऐतिहासिक फिल्म ‘नालापानी’ पुनः प्रदर्शन हुँदै

ऐतिहासिक फिल्म ‘नालापानी’ पुनः प्रदर्शन हुँदै

विराटनगर । ऐतिहासिक कथामा आधारित फिल्म ‘नालापानी’ पुनः प्रदर्शनमा आउने भएको छ । गत वर्ष प्रदर्शन भइसकेको चलचित्र ‘नालापानी’ आगामी साउन १८ गते पुनः प्रदर्शन गर्न लागिएको निर्माण पक्षले जनाएको छ ।

यस चलचित्रले इतिहास प्रस्ट बुझाउने, राष्ट्रप्रेम बढाउने र पुर्खाहरूले दिएको बलिदान सबैले हेरेर बुझ्नैपर्ने दर्शकहरूको सुझावअनुसार २०८१ साउन १८ गते चलचित्र ‘नालापानी’ पुनः प्रदर्शनमा ल्याउन लागिएको चलचित्रका लेखक, निर्माता तथा निर्देशक रिमेश अधिकारीले जानकारी दिए ।

चलचित्रमा इतिहासका जानकारले सबैभन्दा लामो र कठिन युद्धको नाम दिएको नालापानी युद्धको कथा समेटिएको छ । यो नेपाली र अंग्रेजबीच भएको लडाइँमा नेपालीले देखाएको वीरताको गाथामा आधारित चलचित्र हो ।

नालापानीको युद्धमा योद्धा बलभद्र कुँवरको नेतृत्वले लडाइँ जितेको थियो । १३ दिन भएको यो युद्धमा ७ दिन घनघोर लडाइँ भएको थियो जसमा बलभद्र कुँवरले पनि वीरगति प्राप्त गरेका थिए ।

चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, इशान बिजु श्रेष्ठ, हिक्मत थपलियालगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्