समाज सेवा होस् त करिमको जस्तो

समाज सेवा होस् त करिमको जस्तो

इस्लामधर्म  संस्कारमा हुर्किएर कुरानले देखाएको बाटोमा समर्पित विराटनगर–१ पोखरीया बस्तीका करिम अन्सारी मानव सेवा धर्मका लागि उदाहरणीय कार्य गरिरहेका छन् । उनीसँग भएको सर्वधर्म सम्मानको ज्ञान समाजका लागि उदाहरणीय मात्रै छैन, सेवाभाव मानवजातीका लागि हुनुपर्छ भन्ने सन्देश पनि छ । धर्मले मानवलाई कहिल्यै विभाजित गर्न सक्दैन भन्ने सन्देश दिईरहेका करिम अन्सारीको समाज सेवा साँच्चैको अनुकरणीय बनिरहेको छ । उनले जतिन्जेल मानव सेवाको लागि आफ्नो आत्मा समर्पण गर्दछन्, त्यसको प्रशंसामा कसैले कमि राख्ने देखिदैन ।

धार्मिक रुपमा विभाजित देखिएका कतिपय घटनालाई समेत निस्तेज गर्ने नेपाली हिन्दु–मुस्लिम एकताको सन्देश आजको नेपाली समाजको लागि पुग्दो जवाफ बनिरहेको छ । मृत्युसँग जोडिएको अन्तिम संस्कारका लागि घाटमा पुग्न करिमले निःशुल्क बस उपलब्ध गराउँदै आएका छन् । त्यस बाहेक कोहि खर्च अभावले नै काजकिरिया गर्न नसक्ने अवस्था भए व्यक्तिगत रुपमा आर्थिक सहयोग समेत दिदैं आएका छन् । त्यस बाहेक सुनसरीको बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा जान चाहने भक्तजनलाई आफ्ना दुईवटा बसमार्फत पु¥याउने र ल्याउने कार्य गरेर करिमले हामी हुर्किरहेको समाजमा अनुकरणीय काम गरेका छन् । महाकुम्भ मेला मूल आयोजक समारोह समितिले अन्सारीलाई भव्य सम्मान समेत त्यहि कार्य गरेवापत गरेसँगै, कामले पुण्य प्राप्त गरेको महसुश हुन्छ ।

उनीसँग आर्थिक अभाव झेल्नुको पीडा पनि छ । आर्थिक उपार्जनपछि त्यसलाई भोग्नुको मजा पनि । सामान्य परिवारबाट हुर्केर आफ्नो जीवनकालमा गरेको आर्थिक प्रगतिलाई समाजसँग बाँड्ने उनको कार्य धेरैका लागि मार्गदर्शन हुनसक्छ । सामाजिक उत्तरदायित्व भित्र समेटिएको जिम्मेवारी मात्रै नभई बहुआयमिक पक्षबाट उनको दान गर्ने कार्य स्वतः महादानमा परिणत भईसकेको छ । अन्सारीले हिन्दूहरूको कुम्भ मेलालक्षित निःशुल्क बस सेवा सञ्चालन गरेर पु¥याएको योगदान अतुलनिय नै थियो । त्यसलाई कुम्भमेलाका मुल प्रणेता जगतगुरु बालसन्त महाराजले विशेष सम्मान गरेर पुष्टि गरिदिएका छन् । करिमको सम्मान गर्ने कार्यमा बालसन्तले देखाउनु भएको चासोले पनि आजको नेपाली समाजलाई एकतामा बाँध्न सहयोग गरेको आभास गरिदिन्छ ।

अन्त्यमा करिमको सामाजिक सेवाले निरन्तरता पाओस् । सामाजिक सेवाले सामाजिक मनहरु जोड्न सकोस् । समाजलाई एकाकार रुपमा बाँध्न सकोस् । सेवामार्फत कमाईरहेको धन नै सबैभन्दा ठूलो सावित हुनेछ । सेवाभावको कसि  व्यक्तिगत इमान्दारिताले पनि कसिदिन्छ । आफ्नो इमान्दारिता कहिल्यै नचुकोस्, समाज सेवा होस् त करिमको जस्तो होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्