-भरत बर्बरिक
आकास र धर्ती बीच केही छ
यो कुरा धेरैलाई थाहा छ ।
जस्तो कि उज्यालो दिने सूर्य छ
अन्धकार चिर्ने चन्द्रमा छ
धर्तीलाई परैबाट भए पनि
माया गरिरहेका असंख्य ताराहरु छन् ,
यो कुरा धेरैलाई थाहा छ ।
आकास र धर्ती बीच
बयेली खेलिरहेको बतास छ,
अमृतधारा पानी बोकेर घुमिरहेका
बादलका अनगिन्ती थुम्काहरु छन् ,
देश दर्शन गरिरहेका
चराहरुको उडान छ,
हावाजहाज छ
हावाजहाजभित्र प्रेम बोकेर
फर्किँदै गरेको लाहुरे छ,
यो कुरा धेरैलाई थाहा छ ।
तिमी मान या नमान
तिम्री आमाको हृदयले देखेको ईश्वर
यही आकास र धर्तीको बीचमा छ ।
मान्छेको सपना र विश्वास
मान्छेको कल्पना र जीवन
मान्छेको आशा र स्वतन्त्रता
मान्छेको उज्यालो र खुशी
यही आकास र धर्तीको बीचमा छ ।
धेरैलाई थाहा छ
आकास र धर्तीको बीचमा धेरै कुरा छ ।
तिमी र म बीच पनि केही कुरा त अवश्य छ,
तर धेरैलाई थाहा छैन
तिमी र म बीच के छ !