-ऋषि तिवारी
मंसिरको चिसो बतासेले छुन्छ कि भन्दै न्यानो हुन् ट्र्याक सुट अर्थात नाइट सुट हिजै खरिद गरेको थिएँ । बाहिरबाट हेर्दा राम्रो थियो । गोजी नै गोजी थियो । त्यो पनि चेन भएको । सोचें आफ्नो पैसा रुपैयाँ पत्नीको हातबाट सुरक्षित हुने भो । त्यही सुट किन्दा पाँचसय रुपैयाँ बचत गरेको थिएँ । अर्थात दलाली गरेर भाउ घटाएको थिएँ ।
त्यो बचत भएको पाँचसय त्यही ट्रयाकको पेन्टमा चेन लगाएर सुरक्षित राखेको थिएँ । झ्याल खुल्ला गरेर सुत्ने बानी थियो मेरो । म कोल्टे परेर झ्यालतिर निल गगन आकाशतिर हेर्दै थिएँ । नौ लाख ताराहरू मध्ये फाट्टफुट्ट देखें । आकाश माथि माथि जून आउँदै थियो । निन्द्राले धपक्क आँखालाई संकेत दिँदै थियो । 'सुत मनुवा अब । भोलि तैंले मर्निङवाकमा जानु छ ।' कता कोल्टे फेरे, घरी पत्नीतिर, घरी उही आकाशको निल गगनतिर । कुनबेला निन्द्राले छोयो थाहा पत्तो भएन ।
बिहान चरा चुरुङ्गीको आवाजसंगै निन्द्रा खुल्यो । आँखा मिच्तै उठें । हिजो आज पत्नीले उठाउँनु परेको छैन् । चराचुरुङ्गीसंग पनि मित्रता गाँसेको थिएँ ।
मर्निङवाक सेरोफेरो सकेपछि आफ्नो उही तालिका थियो । अफिस हिड्नै लागेको थिएँ । म कमाउँने मान्छे भएपनि पत्नीसंग कहिलेकाहीँ पैसा माग्थें । उनी बचत कर्ता थिइन् मेरो । मैंले उनीसंग पैसा मागें । "खै छ भने देऊ । काम धेरै गर्नुपर्छ । बाटोघाटो कुदिरहेको हुन्छु । यसो पाँचसय नै देउन पेट्रोल हाल्छु ।" उनले भनिन्, "पुग्दैन भने अफिसमा माग्नु ।" म मौन थिएँ एकछिन उनको अघि । "लु अब यति हो मसंग भएको पैसा ! यो पाँचसयले यो महिनाभरी पकेट खर्च चलाउँनु । धेरै फुर्माइस नगर्नु बिचमा कचकच पनि नगर्नु ।"
म मनमनै सोच्दै थिएँ । जेहोस् मेरो पत्नीको साथ छ मलाई त्यही खुशी लाग्छ । पाँचसय, पाँचसय गरेर एक हजार हुने भो भनेर म मक्खै थिएँ ।
पत्नीले दिएको पैसा, उनको मोवाइल चार्ज हराएकोले उनलाई नै चार्जर किनिदिनु पर्यो भन्दै चार्जर किनें ।
समय आफ्नै ताल आफ्नै सुरमा थियो । अब ट्र्याकको गोजिमा भएको पैसा झिक्नु पर्यो भन्दै हात हालें । पैसा ट्र्याकको गोजिमा थिएन् । सोचें राती कता कोल्टे फेरे, फेरे । पैसा पत्नीले पक्कै फेला पारिन् । म निन्द्राको भोगी सुतेपछि केही थाहा नपाउँने ।
उनलाई अफिसबाटै फोन गरें । "श्रृया ट्र्याकको पेन्टको गोजीमा पाँचसयको नोट नै रहेनछ । के तिमीले म निदाएको बखत हात मार्यो कि ?"
उनी मोबाइलमैं खितीतीती हाँसिरहेको, आवाज' सुनिरहेको थिएँ ।
विराटनगर-६,ममता-मार्ग ।