इन्दु साह
विराटनगर । विराटनगरमा पछिल्लो समय मोटरसाईकलको चोरी बढ्दो छ । जिल्ला प्रहरी कार्यालय मोरङले गतआर्थिक (२०८०/२०८१) वर्ष हराएकामध्ये २६ मोटरसाईकल फेला पारेको छ । जिल्लाभर १६१ मोटरसाइकल हराएको भन्ने उजुरी प्राप्त भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
विराटनगर महानगर भित्र मोटरसाईकल र साईकल चोरी हुनु सामान्य जस्तै हुन थालेको छ । घरबाटै समेत मोटरसाईकल हराएको गुनासो आउन थालेका छन् । घरमा पार्क गरेर राखेको साईकल मोटरसाईकल चोरी हुन थालेको हो । बजार जाँदा नागरीकले एकछिन कुनै स्थानमा सवारी पार्क गर्न हिचकिचाउँछन् । खुल्ला सीमा नाका भएका कारण चोरी भएको एक घण्टा नबित्दै मोटरसाइकल पारी पुग्ने गरेका हुन् ।
बाँकी रहेका अन्य मोटरसाईकल भने विविध कारणले फेला नपरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । यस्तै २०७९/०८० मा जम्मा १ सय ५४ वटा मोटरसाईकल हराएको निवेदन जिल्ला प्रहरी कार्यालय मोरङमा परेको थियो । जस बमोजिम २८ मोटरसाईकल फेला परेको थियो ।
यस्तै २०७८/०७९ मा मोटरसाईकल चोरीको जम्मा २ सय २ निबेदन आएको थियो । जसमध्ये २१ मोटरसाईकल फेला परेको थियो ।