-उषा केसी
मुक्तक १
आमा जस्तो बहुमुल्य हुन् सक्दैन सुनैको सिरानी
आमा लेखेकोछु दिलमा तपाइले जीवन कहानी
धर्ती फुट्ला आकाश खसला तर टुट्दैन माया आत्मामा
त्यसैले स्नेहले पोतिएको मन्त्र जपेर बस्छु हरेक बिहानी
मुक्तक २
आभास नजिकै लाग्छ तिमी सुर्य झै टाढा हुँदा पनि
सुवास फुलकै आउँछ तिमी तीखो काडा हुँदा पनि
समयले छुटाउने र जुटाउने खेल खेलिरहन्छ थाहा छ
तर पनि हिम्मत हार्दिन समय जतिनै बाधा हुँदा पनि
मुक्तक ३
अचेल सिन्दुर पोते चुरा र धागो बन्धन झै लाग्छ
अचेल नारी अधिकारको कुराहरु गन्थन झै लाग्छ
खोइ त परिबर्तन ब्यवहारमा हुने पर्ने हो भएको छैन
त्यसैले अब युग समेटेर गर्नु पर्ने काम मन्चन झै लाग्छ
मुक्तक ४
अब मृत्यु सङ्गसङ्गै यहाँ कस कसले के के लान्छन् खै?
अब पापी जति सबैले देशै बेचेर कहाँ जान्छ्न खै?
स्वाभिमान र राष्ट्रियता कति सस्तो भयो मुर्खहरुलाई
कुर्सी र सत्ताको मोहमा देशको टाउकोमा किन हान्छ्न खै?