-जमुना पौड्याल
वर्षाले आफ्नो
अन्तिम बिदाइमा
हात हल्लाउँदै गर्दा
धानका हरिया फाँटले
शरदलाई डाकिरहे
जस्तो लाग्छ
बाढीपहिरोले खोल्साएका
पहराका छाती
बिसेक हुँदै छन्
प्रचण्ड गर्मीले
पिल्साएका जीवनमा
हिमाली शीतल
हावाको स्पर्शले
प्राण सल्बलाउँदै छ
चारैतिरको मनोहर दृश्यले
आह्लादित बनाउँछ हृदय
शरदको बिम्ब
बिम्बित हुन्छ आकाशमा
अब मडारिन
पाउँदैन कालो बादल
कासको सेतो फरियाले
परी बनेको बगरमा
एक झप्को निद्रा
बिसाउने मन छ
कञ्चन नदीबाट
अँजुलीभरि पानी थापेर
तृष्णा भेट्ने मन छ
शरदको मौसमले
सँघार टेक्नै लाग्यो
एक जोडी प्रेमी भएर
कावा खाँदै उड्न मन छ
क्षितिजपारिको देशमा
मनोहर दृश्यले
तानेको दिल
चङ्गा जस्तै उडाउनु छ
मनोहर मौसममा
विराटनगर