-नवराज पोखरेल 'नवशिला'
मुक्तक १
गुन्जिरह्यो नेपथ्यमा मिठो एउटा धुन
अँध्यारो नि उज्यालो भो चम्किएर जून
सत्य धरोधर्म मेरो मन यो पुलकित भो,
उड्न थाल्यो मेरो रहर हेर आकास छुन।
मुक्तक २
निराशा अनि त्रासले पनि माया गरि गरि
दुख पिडा पिरको भारी बढ्यो घरि घरि
नछोड्ने भो समाई रह्यो किन होला खै,
अभाव अनि आर्तनादले मलाई सधैँभरि।
मुक्तक ३
मडारिन्छ निराशाको बादल सधैँभरि
धुन्छ आँसु आँखाको यो गाजल सधैँभरि
चारैतिर असरल्ल छ अभावको बिस्कुन,
चल्ने रहेछ बिवसताको पसल सधैँभरि।
मुक्तक ४
आफ्नैले घातको डोरी बाट्छ किन होला
बैरभावको करौतीले काट्छ किन होला
साथ दिने कसम खाई बिश्वास दिलाएर,
तोड्छ बाचा उसैले नै ढाँट्छ किन होला?
बेलबारी -२, नवदेव मार्ग, लालभित्ती, मोरङ