विराटनगर । विराटनगरमा कपडा धुलाईका लागि प्रयोग हुने सर्फ तथा साबुन नक्कलीले बजार खिचेको पाइएको छ । भारतबाट आयात हुने फेनासँग मिल्ने प्याकेजिङ्गमा यूनिक फेना र पतञ्जली समेत नक्कली रहेको पाइएको हो ।
पतञ्जलीको सर्फको नाम पातजली राखेर बिक्री गरिदै आएको पाइएको हो । उपभोक्ताले खरिद गरेको यूनिक फेना र पातजली वास्तविक फेना र पतञ्जली जस्तै प्याकेजिङ्गमा छन् । ब्राण्ड चोरी गरेर बजारमा ल्याइएको उस्तै प्याकेजिङ्ग भित्रको सर्फको गुणस्तरको परीक्षण हुन बाँकी छ । नक्कली यूनिक फेना र पातजली यूनिक ल्यूकिड सर्फ प्रा.लि.को हो । मोरङको बुढीगंगास्थित आरए ट्रेडर्सबाट उक्त कम्पनीको मालवस्तु बजारमा डुलाउँदै बिक्री गरिएको फेला परेको छ ।
भारतबाट फेना सर्फ विराटनगरस्थित श्रीकृण्ण ट्रेडर्सले बिक्रीवितरण गर्दै आएको छ । यसका अरुण जैनका अनुसार फेनाको एककेजीको मूल्य १२५ रुपैँया छ । यूनिक फेनाले उस्तै प्याकेजिङ्गमा १०० मूल्य राखेर बजारमा बिक्री वितरण गर्दै आएको छ । यस्तै पतञ्जलीको वितरक भगवती ट्रेडर्सका नितेश अग्रवालका अनुसार एक केजीको सर्फको उस्तै प्याकेजिङ्गमा ९०० ग्राम मात्रै छ । यसाम ब्राण्ड चोरी, भन्सार तथा राजस्व छली, कर छली, गुणस्तरमा समते कमजोरी छ । तर, यसको विषयमा राज्यका निकायलाई जानकारी गराउँदा समेत कारवाही भईरहेको छैन ।
नक्कली सर्फमा ब्लिच सोडा मिसिएको उनीहरुको अनुमान छ । किनकी डिटरजेन्ट आयात गर्ने पार्टीले बजारमा बिक्री गर्दा समेत पान बिलमा ४० हजार रुपैँयासम्मको कारोबार गरेको देखिन्छ । कुन्तादेवी केमीकल ट्रेडर्सको नाममा काटिएको बिल ३८ हजारसम्मको रहेको पाइएको छ । सर्फ मात्रै नभई धोनी साबुनको समेत ब्राण्ड चोरी भएको छ । धोनीको उस्तै प्याकेजिङ्गमा धोबी साबुन बिक्री हुने गरेको पाइएको छ ।