—पारस भट्ट 'प्यासी'
मेरो गाउँमा खानेपानीको योजना आयो
सबैको मनमा खुसियाली छायो
घर-घरमा धारा बन्यो
आमाले भन्यो, बुबाले भन्यो
दाइले भन्यो, भाइले भन्यो
आहा, कति राम्रो विकास भयो
तर मेरो मन निराश भयो
मैले त अझै पनि कुवामै जानुपर्छ,
कुवाकै पानी खानुपर्छ!
मैले त धाराको पानी कहिल्यै पिउनै पाएन
धारा मात्रै बन्यो, पानी कहिल्यै आउँदै आएन!
मुहानबाट टंकीमा त पानी सधैं आउँछ,
टंकीमा पानी कहिल्यै भरिँदैन; त्यो पानी कहाँ जान्छ?
धारा सुकेको छ,
घाँटी सुकेको छ!
हिजो-आज गाउँमा अन्याय बढेको छ,
खानेपानी रामुले आफ्नो घर लगेको छ।
पानीको पाइप काटेर, टी जोडेर
रामु खानेपानीले आफ्नो खेतमा सिँचाइ गर्दैछ,
गाउँले प्यासले मर्दैछ!
गाउँले पनि मलाई नै गुनासो गर्छन्,
खै तिमी बोलेको?
खै तिम्रो कलम चलेको?
सम्झाउँछु म गाउँलेलाई—
चोर्नु राम्रो होइन है, दाइभाइ।
भन्छन् नि—
सुन चोर्ने सुन चोर,
लसुन चोर्ने लसुन चोर,
पैसा चोर्ने धन चोर,
मान्छे जाँच्ने मन चोर।
भागेदार हुनुपर्छ खोरको
हेला हुन्छ चोरको।
राम्रो होइन बानी चोर—
जो पानी चोर्छ,
उ पानी चोर!