सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ५.३२ अंक (०.२० प्रतिशत) ले बढेर २५९१.५६ बिन्दुमा बन्द भएको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएर ५ अर्ब नजिक पुगेको छ । आइतबार नेप्सेमा ६१ हजार १ सय ६७ कारोबारमा ९३ लाख ८६ हजार ७ सय २१ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ८६ करोड २ लाखको कारोबार भएको छ ।
व्यापार र हाइड्रोपावर उपसूचकमा उल्लेख्य वृद्धि हुँदा बैंकिङ लघुवित्त लगायत उपसूचकमा गिरावट देखिएको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक १.६७ प्रतिशतले वृद्धि हुँदा व्यापार उपसूचक १.१४ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन उपसूचक ०.६० प्रतिशतले बढेको हो ।
यता बैंकिङ उपसूचकमा ०.५५ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक १.०४ प्रतिशत र उत्पादनमूलक उपसूचक ०.६० प्रतिशतले गिरावट भएको छ ।
आइतबार बजारमा कुल २ सय ४३ सूचिकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १ सय ४१ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै ९४ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ८ कम्पनीको मूल्य स्थिर छ ।
आइतबार करिब ५ अर्बको कारोबार भएको बजारमा जानकी फाइनान्सको सर्वाधिक १९ करोड ९ लाख रुपैयाँको कारोबार भएको छ । रिभर फल्स पावरको १७ करोड ३६ लाखको कारोबार हुँदा रसुवागढी हाइड्रोपावरको १२ करोड ९१ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको १२ करोड ७९ लाख र नेपाल फाइनान्सको ११ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ ।
आइतबार नेप्सेमा उपकार लघुवित्त, दोर्दीखोला जलविद्युत् कम्पनी र ग्रिन भेन्चर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै दोल्ती पावर कम्पनीको सेयर मूल्य ९.४४ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकको ९.२४ प्रतिशतले बढेको छ ।
त्यस्तै नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.८८ प्रतिशतले गिरावट भएको छ । यस्तै आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ६.८५ प्रतिशत र जानकी फाइनान्सको सेयर मूल्य ६.३९ प्रतिशतले गिरावट भएको हो ।