विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–१५ मा खुकुरी प्रहारबाट एक युवक गम्भीर घाईते भएका छन् । धरान सदन रोड बस्ने २१ वर्षीय रिजन राइमाथि खुकुरी प्रहार भएको हो ।
साथीसाथीबीच चिया खाईसकेपछि पैसा तिर्ने विषयमा विवाद हुँदा उनीमाथि खुकुरी प्रहार भएको थियो । गम्भीर घाईते अवस्थाका रिजनलाई प्रहरीले उद्धार गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि भर्ना गरेको छ । अहिले उनको टाउकोको शल्याक्रिया गरेर आईसियुमा भर्ना गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक भीम दाहालका अनुसार रिजनको टाउको, बायाँ कुम,बायाँ हातको हत्केला र कुहिना काटिएको थियो । घटनामा सम्लग्न पाँचजनालाई पक्राउ गरि सुनसरीमा प्रहरीले सार्वजानिक समेत गरिसकेको छ । पक्राउ पर्नेमा धरान–१३ का १८ वर्षीय उत्सव मगर, २१ वर्षीय विश्रान्ती मगर, धरान–८ का २२ वर्षीय रोमन गुरुङ, १७ वर्षीय प्रस्थान राई र धरान–५ का २१ वर्षीय सुदिप तामाङ छन् ।