- सुजा चापागाई
म त खोजेको खोजै भएछु आमा,
यतै कतै छौ भनि तिमी।
साच्चै विर्सेर म त एकोहोरिएछु,
मेरै सामुन्ने छौ भनि तिमी।
तिमी त वर्षौ पहिले
धर्ती छोडेर गएकी थियौ,
तर किन हो कुन्नि,
म अझै तिमीलाई
यतै कतै खोजिरहेछु।
हरेक सपनीमा देख्छु तिमीलाई,
हरेक वास्तविकतामा खोज्छु तिमीलाई।
म त अन्धकारमा उज्यालो खोजेझैँ,
भीडमा तिमीलाई एक्लै खोजेझैँ,
कहिले सम्झनामा भेट्छु,
कहिले आँशुमा भेट्छु।
तिम्रो मायाले मलाई बाँधिरहेछ,
तिम्रो सम्झनाले मलाई बोलाइरहेछ।
म त अझै बालकझैँ,
तिम्रो अङ्गालो खोजिरहेछु।
न त खोजेरै पाउछु,
न त रोजेरै पाउछु,
म त अझै यही दुनियाँमा
खोजेको खोजै भएछु ।
मलाई त तिमीले छोडेर गएकी पो हौ त
तर किन होला,
मलाई लाग्छ—
तिमी अझै यतै कतै छौ,
मेरो आत्मामा,
मेरो स्वासमा,
मेरो धड्कनमा ।।
विराटनगर -४, राजवंशी चोक।