विराटनगर । विराटनगर–१५ रानी २ नम्बर ढाटबाट ३८ थान मानव खप्पर र १० थान नली खुट्टाको हड्डीसहित एकजना व्यक्ति पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गस्ती टोलिले आइतबार बिहान भारतबाट नेपाल आउँदै गरेका विराटनगर १७ का बिनोद रायलाई मानव कंकालसहित पक्राउ गरेको हो ।
विशेष सुचनाका आधारमा सशस्त्र प्रहरीले बिहान ७ः४९ बजे रानीस्थित भन्सार कार्यालयको दुई नम्बर ढाटमा चेकजाँच गरेको थियो । त्यस क्रममा रायले मानव कंकाल ल्याएको फेला परेको थियो । त्यस सम्बन्धमा थप अनुसन्धान गर्नका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ ।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार मानव कंकालसहित पक्राउ परेका राय विरुद्ध कस्तो कसुरमा मुद्दा लगाउने भन्ने विषय यकिन गर्ने काम भईरहेको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा पोष्ठ रानीका गुल्मपति ऋषिकेश राउतका अनुसार मानव कंकालसहित पक्राउ परेका राय तेस्रो व्यक्ति हुन् । किन र के का लागि मानव कंकाल सीमापारबाट वारि ल्याइन्छ भन्ने यकिन भने भएको छैन ।