विराटनगर । सुनसरीबाट सीमापार गाँजा लैजादै गरेको अवस्थामा दुईवटा गाडी तथा एउटा मोटरसाइकलबाट ५७३ केजी गाँजा प्रहरीले बरामद गरेको छ । प्रहरीले स्कारपियो, टाटा सफारी र मोटरसाइकलबाट अलगअलग स्थानमा गाँजा बरामद गरेको हो ।
गत माघ २४ गते बिहान ३ बजे इलाका प्रहरी कार्यालय चिमडी र इलाका प्रहरी कार्यालय हरीनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेको एचआर–७–ओई–९५०२ नम्वरको स्कारपिओ गाडी रोक्न खोज्दा नरोकी भगाएपछि देवानगंज–७ स्थितमा अनियन्त्रित भई सडक भन्दा १० फिट तल झरेको अवस्थामा प्रहरीको नियन्त्रणमा परेको हो ।
प्रहरीले उक्त स्कारपियोबाट १० बोरा गाँजा, सोही स्थान नजिक रहेको ४ पोका गाँजा समेत गरी २९६ किलो ८५० ग्राम र प्रदेश २–०३–००९ प ०९९७ नम्वरको मोटरसाईकल बरामद गरेको थियो ।
यसैगरी २४ गते बेलुका इटहरी उप–महानगरपालिका–१७ स्थितबाट ट्राफिक समेतको सयुक्त चेकिङ टोलिले चेकजाँचको क्रममा बा. २ च ३४६५ नम्वरको टाटा सफारी गाडीमा ८ पोका २३० किलो १५० ग्राम गाँजा बरामद गरेको छ । यसैगरी सोहि दिन राती कोशी गाउँपालिका–३ स्थित नेपाल भारत सिमा नजिकमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी गस्ती टोलीले २ वटा वोरामा ४६ किलो ५६० ग्राम गाँजा बरामद गरेको थियो । बरामद भएका गाँजा र सवारी साधनको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान तथा आवश्यक कानूनि कारवाही भईरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जानकारी दिइएको छ ।