विराटनगर । ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागिएको केबलकारको पक्षमा लागेका पदम चेन्जि माबोलाई धरानमा कालो मोसो दलेृर कुटपिट गरिएको छ। ताप्लेजुङ घर भएका उनलाई आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले धरान–९ स्थित पुतली लाइनमा अभद्र व्यवहार गरेका हुन् ।
माबोले केबुलकारको पक्षमा सार्वजनिक रूपमा समर्थन गरेको र केबुलकारको बिरोध गर्ने विरुद्ध गालीगलौज गरेको आरोप छ । उनलाई कालोमोसो दलेर सचेत गराइएको जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देनले घटनापछि बताएका छन् । माबोलाई कालो मोसो दल्नेमा थाम्देनसहित नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता अमर इजम र समितिका नेता जेन्टल लावति लगायतको उपस्थिति रहेको भनाई छ ।
पाथीभरा मन्दिर क्षेत्रमा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले केबलकार निर्माणको काम थालेपछि संघर्ष समितिले आन्दोलन सुरु गरेको थियो । त्यसक्रममा प्रहरीसँग भएको झडपमा परेर तीनजना घाईते समेत भएका छन् । कालोमोसो दलेर कुटपिट गरिएका माबोले आफूलाई दुर्व्यवहार गर्नेलाई कडा कारबाही हुनुपर्ने बताएका छन् । कालोमोसो दलेपछि माबोलाई सुरक्षाका लागि इलाका प्रहरी कार्यालय धरानले सुरक्षा दिइरहेको छ ।
उनले घटनाको अनुसन्धान समेत थालिएको बताए। माबोलाई दुई दर्जन जनाको समूहमा आएका केबुलकार निर्माण विरोधीहरूले कुटपिट गरी कालो मोसो दलेका थिए। आफूलाई कालो मोसो दल्ने विरुद्ध मामोले कारबाहीका लागि प्रहरीमा किटानी जाहेरी दिने बताए।