विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले स्वरुप परिवर्तन गरेर ध्वनि प्रदूषण गराउने मोटरसाइकल नियन्त्रणमा लिन थालेको छ । ठूलो आवाजमा सडकमा गुड्ने यस्ता मोटरसाइकलबाट साइलेन्सर हटाउन नियन्त्रणमा लिन थालिएको हो । स्वरुप परिवर्तन गरी ठूलो आवाजसहित मोटरसाइकल चलाउनेलाई कारबाही गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजन लम्सालले जानकारी दिएका छन् ।
सेवाग्राहीले मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव समक्ष समेत यो गुनासो गरेका थिए । सेवाग्राहीले सडकमा साइलेन्सर फेरेर ठूलो आवाज निकाल्दै गुडाउने मोटरसाइकल नियन्त्रणमा लिईदिन भनेपछि जिल्लास्थित ट्राफिक व्यवस्थापन पर्ने निकायलाई निर्देशन गरेर नियन्त्रणमा लिन थालिएको छ ।
शुक्रबार जिल्ला ट्राफिक प्रहरी कार्यालयमा यसरी नियन्त्रणमा लिएका मोटरसाइकलको अनुगमन गर्न प्रमुख जिल्ला अधिकारी यादव आफैं उपस्थित भएका थिए । उनले यो सेवाग्राहीको गुनासो अन्तर्गत ट्राफिक कार्य अभियानकै रुपमा सञ्चालन गरिने बताए । जिल्ला ट्राफिक प्रहरीले अब यसलाई दैनिक कार्यकै रुपमा अगाडी बढाउने छ, प्रजिअ यादवले भने–नियन्त्रणमा लिने, साइलेन्सर झिक्ने र फेर्न लगाउने अनि जरिवाना भराएर मात्रै छोड्ने कार्य हुनेछ ।
अभियानअन्तर्गत बिहीबार ६ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ । उनीहरुको मोटरसाइलको साइलेन्सर झिकिएको छ । सम्बन्धी धनीले अब साइलेन्सर परिवर्तन गरेर चलाउनु पर्नेछ । सवारी साधनमा कम्पनीका पाटपुर्जा मापदण्डविपरीत परिवर्तन गरी प्रयोग गर्न नपाइने नियम भए पनि त्यसो गर्ने गरिर्दै आएको छ ।
मोटरसाइकलको साइलेन्सर परिवर्तन गरेका चालकलाई सम्झाइबुझाइ समेत गरिएको छ । कार्यालयले कम्पनीको मापदण्डविपरीत सवारी साधनको स्वरुप परिवर्तन गरी नचलाउन सबैमा अनुरोधसमेत गरेको छ ।