-शुद्धलक्ष्मी श्रेष्ठ
उकुसमुकुस भएर
सास अड्किन लागेको बेला
जिन्दगीमा सुवास छर्न
फूल बनेर
संगीत बनेर
गीत बनेर
घाउमा लगाउने मल्हम बनेर
अजम्बरी नाता जस्तै
हृदयको कुनामा सजिएर
मनको बगैंचामा फुलेर
जीवनयात्राको कठिन
अँध्यारो बाटोमा
मैनबत्ति झैँ उज्यालो छर्न
राम्रो गीतका मीठा शब्दहरुमा
लय र भाका भर्न
सुरिलो धून बनेर
मेरो गुम्सिएको जीवनमा
ज्योति बनेर
कालजयी संगीत जस्तो भएर
आउनु भएको सारथि बनेर
कोही अपरिचित
मार्गनिर्देश गर्दै बिना स्वार्थ
मेरो लुकेको ब्यथामा
सहज हुने भयो अब
यात्रा जिन्दगीको
साथ पाएर त्यो
ज्ञानी र विबेकी मान्छेको
सायद बाँकी रहेछ
पूर्वजन्मको सत्कर्म
पाएकी छु साथ र निर्देशन
जीवन बाँच्ने आशाको
धन्यवाद ,आभार के के भनौं
परमात्मा प्रकृतिलाई
दु:खको सागरमा पनि
सुखको हांँसो खोज्न सिकाउने
एक असल ज्ञानीलाई।