-नवराज पोखरेल 'नवशिला'
उही हो सर्वसत्य उही सर्वज्ञानी,
बोलिर'न्छ प्याच्च ऊ लाजै नमानी।
ऊ देख्दछ दुर्बल सबै जनलाई,
बनी साँढे जस्तै लगाउँछ फुटानी।
ऊ छुच्चो लफुङ्गो ऊ हो महामूर्ख,
बनाउँछ झुटको सधैं ऊ कहानी।
ऊ सम्झन्छ आफू बहादुर मत्ता,
खराब छ उसको व्यहोरा र बानी।
ऊ देख्दैन अरु पनि छन् सहरमा,
खुवाउँछ जागिर नातागोता तानी।
दलाली र भ्रष्ट जोगाउँछ जहिल्यै,
पठाउँछ जेलमा जो निर्धो छ छानी।
जति छन् ती झोले अनि सुण्डमुण्ड,
बनेका ती जो छन् उसैका दिवानी।
ओगाटेर सत्ता बसेको छ ब्वाँसो,
आफूलाई ऊ ठूलै महाराज ठानी।
नवदेव मार्ग, लालभित्ती, मोरङ।