विराटनगर । विराटनगर–२ स्थित जनता नमुना माध्यमिक विद्यालयबाट अभिभावकले छात्राहरुलाई धमाधम अन्य स्थान्तरण गर्न थालेका छन् । केहि महिना अगाडी विद्यालयका एकजना शिक्षकले नाबालिकालाई यौनजन्य दुव्र्यवहार गरेको आरोप लागेको थियो । आरोपपछि प्रहरीलाई शिक्षकलाई नियन्त्रणमा लिइएको थियो । शिक्षकको मुद्दा अहिले पनि अदालतमा विचराधिन रहेको छ ।
प्रहरीले उनी विरुद्ध बाल यौन्य दुरुपयोग कसुरमा अनुसन्धान गरेर जिल्ला सरकारी वकिलको कार्यालयबाट मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । अदालतबाट शिक्षक धरौटीमा छुटेर पुनः विद्यालय जान थालेका छन् ।
शिक्षक विद्यालय फर्केपछि भने अभिभावकले आफ्ना छोरीहरुलाई स्थान्तरण गर्न थालेका हुन् । जुन कुराले विद्यालयलाई भर्ना अभियानकै समयमा समस्या पारेको छ । विद्यालयलाई समस्या परेपछि व्यवस्थापन समितिले विराटनगर महानगरपालिकासँग शिक्षकलाई काजमा स्थान्तरण गरिदिन माग गरेको छ । विचराधिन मुद्दा किनारा नलाग्दासम्म विद्यालयको वातावरणमा समेत असर परेकोले शिक्षकलाई अन्त सार्न माग व्यवस्थापन समितिले गरेको हो ।
स्थायी शिक्षक उनी अब दुईवर्षमा सेवा निवृत्त हुँदै थिए । उनी गणित विषयका शिक्षक हुन् । ५८ वर्षीय उनी विद्यालय पुग्दा त्यहाँको वातावरण सुमधुर नहुने स्थिति सिर्जना भएको हो । विराटनगर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले विद्यालयबाट केहि गुनासोहरु आएकोले त्यसको विषयमा महानगरपालिकाले केहि छलफल गर्ने चरणमा पुगेको जानकारी दिएका छन् ।
विद्यालयका प्राचार्य इश्वर घिमिरेले विद्यालयको वातावरण केहि असहज जस्तो भएको बताए । उनले अभिभावकहरुले केहि छात्राहरुलाई जनताबाट निकालेर निजी विद्यालयमा भर्ना गरेको जानकारी दिएको बताए । यद्यपी भर्ना अभिभान भर्खरै चलिरहेकोले तत्कालै यहि हो भन्ने अवस्था नभएको उनको भनाई थियो ।