विराटनगर । बीमा कम्पनीका मेनेजर पीडितले पाउनु पर्ने रकम कट्टा गरेर नयाँ बीमा कामय गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, शाखा कार्यालय विराटनगरका मेनेजर सन्तोष अधिकारी छन् ।
विराटनगर महानगरपालिका ३ घर भएका उनले बीमाको ज्ञान नभएका दावीकर्तालाई झुक्याएर बैंक खाता खोलि पाउनु पर्ने रकम बीमाका लागि जम्मा गरेका हुन् । उनले मोरङको केराबारी गाउँपालिका ९ स्थित देवीझोडा निवासी भीमकुमारी विश्वकर्मामाथि छलछाम गरेको पाइएको थियो ।
भीमकुमारीका श्रीमान् नईन्द्र विश्वकर्मा २०८० सालमा बहराइन गएका थिए । उनको २०८१ सालमा मृगौला रोगबाट मृत्यु भएको थियो । त्यसक्रममा हकदारले प्राप्त गर्ने वैदेशिक रोजगार म्यादी बीमा वापतको १३ लाख रुपैंया सन नेपाल लाइफ इन्स्योरेन्सबाट लिनुपर्ने थियो । हकदार दावीकर्ता भीमकुमारी बीमा कम्पनीको शाखा कार्यालय विराटनगरमा जाँदा मेनेजर अधिकारीले ग्लोबल आइएमई बैंकमा खाता खोलाएका थिए ।
जसमध्ये भीमकुमारी, भदा नाताका प्रतिक विश्वकर्मा र मृतकको जेठी श्रीमती मिरा विश्वकर्माको नाममा रहेको खुलेको छ । बीमा भुक्तानको लागि तयार गरेको कागजात मा सहीछाप गराउँदा नै प्राप्त हुने रकम अर्को खातामा जम्मा गर्न सहज हुने गरी बैंकका कागजातमा हस्ताक्षर गर्न लगाएको खुलेको थियो । पीडितलाई आफूले पाउनु पर्ने १३ लाखमध्ये ५ लाख ७६ हजार मात्रै दिएर बाँकी रकम भीमकुमारी विश्वकर्माको नाममा १५ वर्ष अवधीको वार्षिक ७० हजारको प्रिमियम बुझाउनुपर्ने गरी खोलिएको खातामा जम्मा गरिएको थियो । यस्तै भदा प्रतिकले वार्षिक ५१ हजार र मिरा विश्वकर्माको नाममा वार्षिक ७० हजार बुझाउनु पर्ने गरी पनि खाता खोलिदिएको खुलेको छ ।
पीडितले प्राप्त गर्नुपर्ने रकम कसरी कट्टा भयो ? अनि नचाहँदा पनि किन नयाँ बीमा कायम गरियो भनेर बारम्बार बुझ्ने प्रयास गर्दा मेनेजर अधिकारीले जवाफ दिएका थिएनन् । त्यसपछि कुन प्रक्रियाबाट यस्तो भयो भनेर पीडितले जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिएकी थिइन् । जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अनुसन्धानका लागि परिपत्र गरेपछि मोरङ प्रहरीले अधिकारीलाई नियन्त्रणमा लिइएको थियो ।
त्यस क्रममा मेनेजर अधिकारीले ज्ञान नभएका दावीकर्तालाई झुक्याएर आफ्नो प्रगति देखाउनका लागि खाता खोलिदिएको खुलेको थियो ।
भीम कुमारीले पाउनुपर्ने १३ लाखमध्ये ६ लाख ४४ हजार १७८ रुपैँया समेत ग्लोबल आईएमई बैंकमा फिक्स डिपोजिट गरेको भेटिएको मोरङका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिएका छन् । उनका अनुसार कसैलाई झुक्यानमा पारी विश्वासघात गरेर ठगी गरेको आरोपमा अधिकारीलाई नियन्त्रणमा लिईएको हो । उनी विरुद्ध आपराधिक विश्वासघात गरी ठगी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको छ ।