-शान्ता पौडेल भट्टराई
स्कुल जान ढिला भयो, टाइ हरायो
कता पर्यो टाइ भन्दै भाइ करायो ।
अघिसम्म यतै थियो कता पर्यो खै
लुकाकी भए दिदीले गाली खाने भै ।
यति भन्दै हजुरामा खोज्नुहुन्छ टाइ
भेटिएन भन्दै खाटमुनि छिर्यो सानो भाइ ।
स्कुल जान ढिला भयो, टाइ हरायो
कता पर्यो टाइ भन्दै भाइ करायो
यता उता कतै छैन लौ न मेरो टाइ
नलाइ गए स्कुल गाली खाइन्छ बाइ ।
हजुरबा नि निस्किनुभो टाइको खोजीमा
भाइले टाइ राखेछ आफ्नै सर्टको गोजीमा ।
स्कुल जान ढिला भयो भन्दै भाइ करायो
टाइ गोजीमा राख्ने भाइको सुद्दि हरायो ।
बुढीगंगा-१, मोरङ