कश्मिरको पहलगाममा अप्रिल २२ मा भएको भीषण आतंकवादी आक्रमणको करिब दुई महिनापछि भारतको नेशनल इन्भेष्टिगेशन एजेन्सीले घटनासँग सम्बन्धित दुई व्यक्तिलाई पक्राउ गरेको छ ।
अनुसन्धानका क्रममा यी दुई व्यक्तिले आक्रमणमा संलग्न तीन आतंककारीलाई आश्रय दिएको तथा सहयोग गरेको खुलेको छ ।
पक्राउ परेका व्यक्तिहरूमा परवेज अहमद जोठार तथा बशीर अहमद जोठार रहेका छन् ।
दुबैले आफ्नो वयानमा तीन आतंककारीको पहिचान खुलाएका छन् । उनीहरूका अनुसार ती सबै पाकिस्तानी नागरिक थिए तथा लश्कर–ए–तैयबा नामक प्रतिवन्धित आतङ्कवादी संगठनसँग आबद्ध थिए।
एनआईएको अनुसन्धानअनुसार, परवेज र बशीरले ती आतंककारीलाई पहलगाम नजिकैको हिल पार्क क्षेत्रमा रहेको एक अस्थायी झुपडीमा राखेका थिए । उनीहरूलाई खाना, लुगा तथा आवश्यक सुविधाहरू प्रदान गरिएको थियो । यो काम जानाजानी, योजनाबद्ध रूपमा गरिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
२२ अप्रिलमा भएको उक्त आक्रमणमा एक जना नेपालीसहित कुल २७ जनाको ज्यान गएको थियो र १६ जना गम्भीर रूपमा घाइते भएका थिए । आतंककारीहरूले पर्यटकहरूलाई उनीहरूको धार्मिक पहिचानका आधारमा छानेर लक्षित गरेका थिए । घटना पहलगाम सहरबाट करिब ६ किलोमिटर टाढा बायसरन घाटीमा भएको थियो।